काठमाडौं । हुन्डाई मोटर्सले फेसलिफ्ट ग्राण्ड आई-१० नियोसको भारतमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले आफ्नो सफल ह्याचव्याक ग्राण्ड आई-१० नियोसको फेसलिफ्ट केहि दिनमै बजारमा ल्याउने भएको हो ।
हुन्डाईले ग्राण्ड आई-१० नियोसलाई भारत स्ट्याण्डर्डको फेज २ प्रदुषण मापदण्ड अनुसारको इनिजनमा ल्याउने भएको हो । भारत सरकारले नयाँ मापदण्ड आगामी अप्रिल २०२३ बाट लागू गर्ने निर्णय गरिसकेको छ ।
हुन्डाईले सेन्ट्रोको उत्पादन बन्द गरेसँगै ग्राण्ड आई-१० नियोस इन्ट्री लेवल कार भएको छ । आई-१० नियोस भारतमा राम्रो विक्री भइरहेको मोडल हो । नेपालमा पनि यसले निकै राम्रो ब्यापार गरेको थियो ।
यस्तो हुनेछ ग्राण्ड आई-१० नियोस फेसलिफ्ट
हुन्डाईले ग्राण्ड आई-१० नियोस फेसलिफ्ट र अउराको इन्जिन अपडेट गर्ने छ । इन्जिनको अलावा यी दुबै कारको फ्रन्टमा केहि परिमार्जन गर्नेछ ।
हुन्डाईले आफ्नो नयाँ आई-१० मा मोर्डन हाइटेक स्टाइल तथा सेफ्टीलाई विशेष ध्यान दिएको जनाइएको छ । यो नयाँ मोडलमा फस्ट इन सेग्मेन्ट सेफ्टी फिचरको रुपमा ४ वटा एयरव्याग स्ट्याण्डर्ड रहने छ ।
ग्राहकले आफ्नो छनोट अनुसार ६ वटासम्म एयरव्याग अप्सन पाउने छन् । टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल, इलेक्ट्रोनीक स्टेबिलीटी कन्ट्रोल, हिलस्टार्ट असिस्ट कन्ट्रोल जस्ता फिचरले आई-१० नियोसलाई अब्बल बनाउने छ ।
यसको एक्टेरियरमा नयाँ स्टाइलको एलइडी डीआरएल, रिभाइज्ड फ्रन्ट तथा रियर बम्पर तथा नयाँ एलइडी टेलल्याम्प रहने छ । इन्टेरियरमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, टाइप सी फास्ट यूएसवी चार्जिङ पोर्ट, वायरलेस चार्जर, स्मार्ट की, पुस बटन स्टार्ट स्टप, फुल्ली अटोमेटिम क्लाइमेट कन्ट्रोल , भोइस रिकग्निसन सिस्टम, रियर एसी भेन्ट पाउन सकिने छ ।
हुन्डाईले यो कारमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । जसले ८३ पीएस पावर र ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो कार म्यानुअल र अटोमेटिक दुबै गियरबक्समा उपलब्ध हुनेछ ।
हुन्डाईले ग्राण्ड आई-१० नियोसको पहिलो फोटो समेत सार्वजनिक गरेको छ । यो मोडलको प्रोडक्सन हुन थालिसकेको र फ्याक्ट्रीबाट डिलरकोमा छिट्टै डिस्प्याच हुने अनुमान गर्न सकिन्छ ।

