काठमाडौं । विद्युतीय सवारीसाधनको लोकप्रियतालाई यहाँ धेरै चर्चा गर्नु पर्ने अवस्था छैन । अझ नेपालमा ईभीको विक्री तथ्यांक हेर्ने हो भने सन् २०२२ मा ३० प्रतिशत बजार ओगट्न सफल भएको देखिन्छ ।
विश्वमा भने १० प्रतिशतको जादुयी आंकडा ईभीले भेट्टाउन सफल भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने साधनको उत्पादनमा नयाँ रणनीति निर्माण नगर्ने मुडमा उत्पादक लागेसँगै ईभीको माग बढ्दै गएको हो ।
सन् २०२१ मा विश्वभर विक्री भएको सवारीसाधनमा ईभीको हिस्सा ८.३ प्रतिशत थियो । त्यसबाट बढेर सन् २०२२ मा १० प्रतिशतभन्दा बढी पुगेको हो । यसलाई विद्युतीय साधनको लविङ गर्नेहरु उत्साहीत मान्छन् ।
अहिले यूरोपका केही देशहरु विद्युतीय सवारीसाधनको लागि हट स्पट साबित हुँदै गएका छन् । विशेषगरी धेरै गाडी खपत गर्ने चीन, यूरोप र एशियाली देशमा ईभीको खोजी तिब्र भइरहेको छ । अमेरिकी सरकार र विक्रेताले खासै ध्यान नदिएपनि ग्राहकले लाखौ यूनिट ईभी किन्न थालेका छन् । यसले सन् २०२३ विद्युतीय सवारीका लागि अझ सकारात्मक बन्ने देखएको छ ।
सन् २०२२ मा विश्वभर ७८ लाख युनिट विद्युतीय सवारीसाधन विक्री भए । यत्रो संख्यामा ईभी विक्री हुँदा पनि अझैँ ठूलो मानव हिस्सा ईभीको भविष्यलाई लिएर निश्चित बन्न सकिरहेको छैन । त्यसैले उनिहरु ईभी उत्पादनपछि त्यसलाई चलाउन चार्जिङ पूर्वाधरदेखि ग्राहक बनाउने योजनासम्ममा काम गरिरहेका छन् ।
अमेरिकाको ईभी बजार अन्य देशमा जस्तो विद्युतीय सवारीका लागि प्रतिबद्ध देखिंदैन । तर, ब्याट्री–इलेक्ट्रीक भेहिकलको विक्रीमा भने निरन्तर वृद्धि भएको देखिन्छ । हालै सार्वजनिक भएको तथ्यांकका अनुसार अमेरिकामा सन् २०२२ मा ८ लाख ७ हजार १८० युनिट विद्युतीय गाडी बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले बढी हो ।
अमेरिकी बजारमा कम्बस्चनको विक्रीमा ८ प्रतिशतले गिरावट आउँदा ईभीको विक्री २.६ प्रतिशतले बढ्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । यूरोपमा सर्वाधिक सफल ईभीहरु एशियाली देशमा पनि निकै राम्रो संख्यामा विक्री भइरहेका छन् । सन् २०२३ मा विश्वभर ईभीको विक्री हिस्सा १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

