डिजाइन, रेन्ज र मूल्यको कारण चर्चित ‘रोर’ इलेक्ट्रीक मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । गोल्छा अर्गनाइजेशन अन्तर्गतको ई-मोटोले ओवेन इलेक्ट्रीक कम्पनीको पहिलो उत्पादन ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले आधिकारीक विक्रेता लिएको धेरै समय भएपनि विविध कारणले यसको भारतमा नै विक्री सुरु हुन नसक्दा नेपाल आउन पाएको थिएन ।

अब कम्पनी मार्चबाट भारतमा मोटरसाइकल विक्री थाल्ने भएसँगै नेपालमा पनि ई-मोटो प्रालिले रोर मोटरसाइकल ल्याउन लागेको हो । अबको केही दिनमा नै केही यूनिट स्कुटर नेपाल आइपुग्ने भएको छ ।

‘नेपालमा यस्तो किसिमको प्योर इलेक्ट्रीक मोटरसाइकल छैन । हामीले सुरुमा ल्याएर एक महिना जति सडक परिक्षण गर्छौ । त्यसपछि यसको आधिकारीक विक्री सुरु गर्ने योजना बनाएका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

ओवेन रोर मोटरसाइकल विशेषत डिजाइन र रेन्जको लागि सुरुदेखिनै चर्चामा रहेको मोडल हो । एक पटकको फुल चार्जमा २०० किलोमिटर रेन्ज दिने यो मोटरसाइकलको भारतमा मूल्य १ लाख ३ हजार (एक्स शोरुम दिल्ली) भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले फ्युचरस्टीक डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प दिएको छ । त्यस्तै यसमा इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलोय ह्वील दिएको छ ।

ओवेनका अनुसार यो मोटरसाइकल ० देखि ४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । ओवेन रोरमा तीन राइडिङ मोड दिइएको छ ।

यो मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसमा ब्याट्री कुलिङ प्रविधि (एमएचएक्स)को प्रयोग गरिएको छ । यो मोटरसाइकलले ६२ एनएम टर्क प्रदान गर्छ ।

ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ भने, एबीएस उपलब्ध छैन । त्यस्तै यसमा एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।


Back_to_top