काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल चाँडै नेपाल ल्याउने भएको छ । कम्पनीले अबको केही समयपछि नै नेक्सन म्याक्स नेपालमा विक्री सुरु गर्न लागेको हो ।
कम्पनीले ल्याउने नेक्सन म्याक्स अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटा नेक्सन प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावर फुल मोटर पाउन सकिन्छ ।
टाटा नेक्सन म्याक्स चाँडै नेपाल आउने कुरा टाटा मोटर्सको कन्ट्री हेड अजित नारायण सिंहले मेरोअटोसँगको अन्तर्वार्तामा खुलासा गरेको हुन् । उनले टियागो ईभीभन्दा पहिला नेक्सन म्याक्स र पन्च मोडल आउने बताएका थिए ।
सिप्रदी स्रोतका अनुसार पनि नेक्सन म्याक्स नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सम्भवत फेब्रुअरी अन्तिमसम्ममा नेक्सन म्याक्स नेपाल आइसक्ने छ ।
यस्तो छ नेक्सन म्याक्स
टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । साथै, प्राइम मोडलको भन्दा ठूलो १०५ किलोवाट क्षमताको मोटर दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।
एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ ।

नेक्सन म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ ।
नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।
कति पर्ला मूल्य ?
टाटा नेक्सन प्राइममा ९५ किलोवाट क्षमताको मात्रै मोटर रहेको थियो । जसको कारण यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लागेको थियो ।
तर, म्याक्समा १०५ किलोवाट क्षमताको मोटर जडान भएको छ । १०० किलोवाट पीकपावर माथि २०० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्छ ।
करको दर नै बढी भएपछि यसको मूल्य स्वाभाविक रुपमा महंगो हुने नै भयो । अहिलेकै करका दर अनुसार नेक्सन म्याक्सको सुरुवाती भेरियन्टको मूल्य ६० देखि ६५ लाख पर्ने देखिन्छ ।

