ईभीबाट फर्कने सम्भावना छैन, ईभीकै कारण नेपालमा टाटा पहिलो बन्यो : अजित नारायणको अन्तर्वार्ता

काठमाडौं । सन् २००७ मा इन्जिनीयरिङ गरेर मारुती सुजुकी, टोयोटा हुँदै टाटा मोटर्समा काम सुरू गरेका अजित नारायण सिंह अहिले नेपालमा टाटा मोटर्स प्यासेन्जर कार डिभिजनको कन्ट्री म्यानेजर रहेका छन् ।

पछिल्लो ५ वर्ष नेपालमा रहेर काम गरेका अजित नारायण टाटा मोटर्स भारतबाट नेपाल प्रतिनिधिको रूपमा आए पनि उनी नेपाली नागरिक नै हुन् भन्ने विषय उनका सहकर्मीलाई समेत थाहा नभएको विषय थियो ।

सुरूमा आफू ल्याटिन अमेरिकाको लागि छनोट भएकाे तर नेपाली हो भन्ने थाहा पाएपछि कम्पनीले नेपाल पठाएको बताउने सिंहसँग मेरोअटोको लागि अनु पौडेलउज्वल घिमिरेले उनको नेपाल बसाइँ, टाटाको बजार र आगामी रणनीतिको विषयमा गरिएको कुराकानीको सम्पादीत अंश :

सन् २०२२ मा टाटा मोटर्स नेपालमा सर्वाधिक धेरै प्यासेन्जर कार विक्री गर्ने कम्पनी बन्यो । यसमा ईभीको हिस्सेदारी कति छ ?

स्वभाविक रूपमा ईभीको हिस्सा धेरै छ । आयात प्रतिबन्धको कारण कम्बस्चन र ईभी मिलाउँदा पनि बजार ७० प्रतिशतले घटेको थियो । तर, ईभीको आयात र विक्री दुवै खुल्ला रहेको कारण ईभीको विक्री धेरै भयो । नेपालमा ईभीको स्वीकार्यता धेरै छ । सरकारले करको दर चलाएसँगै ईभीको बजारमा उथलपुथल भयो । हामीले निकै राम्रो संख्यामा नेक्सन ईभी विक्री गर्न सफल भयौं । अर्को कुरा सन् २०२२ मा ईभीको विक्री ५० प्रतिशतले बढ्यो । तर, हाम्रो हकमा भने ८० प्रतिशत हाराहारी ईभीको हिस्सेदारी रह्यो ।

टाटा नेक्सन ईभी नेपालमा निकै सफल हुनुको पछाडि थुप्रै कारण छन् । ग्राउन्ड क्लियरेन्स, हाम्रो सर्भिस नेटवर्क, हामीले बनाएको चार्जिङ पूर्वाधार र महत्वपूर्ण कुरा यसको मूल्यले गर्दा पनि धेरै मानिसले नेक्सन ईभी रुचाउनु भएको हो ।

टाटाको पछिल्ला ५ वर्षलाई तपाईंले कसरी हेर्नु भएको छ ?

सन् २०१७ मा हाम्रो सर्वाधिक विक्री हुने मोडल टाटा सुमो थियो । कमर्सियल सेगमेन्टमा प्रयोग हुने भएको कारण यसको विक्री बढेको थियो । त्यति बेला टाटाले प्यासेन्जर कार विक्री गर्छ भन्ने धेरैलाई थाहा नै थिएन ।

हाम्रो प्रोडक्ट लाइनअपमा ठूलो परिवर्तन ल्याउने मोडल नै टाटा नेक्सन हो । नेक्सनले नै टाटाका कारप्रति आमनागरिकको धारणा परिवर्तन गरेको थियो । नेक्सनपछि आएका टियागो ह्याचब्याक र टिगोर सेडानले टाटालाई प्यासेन्जर सेग्मेन्टमा बलियो बनायो ।

हामीले ग्राहकको दिमागमा टाटाका कार रजिस्टर गर्यौं तर, त्यो तुरुन्तै मार्केट सेयरमा कन्भर्ट भएन । सन् २०१७ मा सुमोको कारण हाम्रो बजार हिस्सा १० प्रतिशत थियो । तर, सुमो हटाउने हो भने बजार हिस्सै थिएन भन्न मिल्थ्यो । पछि सन् २०१९ को अन्तिममा त हाम्रो बजार हिस्सा १५ प्रतिशत पुग्यो । त्यतिबेला हामीसँग सुमो थिएन ।

नेक्सन आएपछि मार्केटिङमा पनि नयाँ प्रयोग गरेका थियौं । उपत्यकाका ७ वटा राम्रो एमबीए पढाउने कलेज छनोट गरेर त्यहाँ नेक्सनलाई देखायौं । विज्ञापन बनाउने कम्पिटिसन नै गर्यौ । उनीहरूलाई टाटा ब्राण्ड र नेक्सन मोडलसँग जोड्ने प्रयत्न भयो । उनीहरू ईभीको विषयमा धेरै छलफलमा रहेको सुनिन्थ्यो । किनभने त्यति बेला नेपालमा राम्रा ईभी विक्री हुन थालिसकेको थियो ।

नेपालमा ईभीको बहस सन् २०११ पछि नै भएको थियो । नेक्सनले सेफ्टी, डिजाइन, कम्फर्ट लगायतका कुरामा ढुक्क हुने अवस्था सृजना गरेसँगै ईभीको विकास भयो । नेक्सन ईभीमा आउने भनेपछि धेरैको चासो त्यसमा बढ्यो । हामीले पनि ठीक समयमा नेक्सन ईभी नेपालमा ल्यायौं । अहिले पनि ठूलो संख्यामा नेक्सन ईभी किन्ने ग्राहक कुरेर बसेका छन् । नेक्सन ईभीकै कारण सन् २०२२ मा हामी नेपालमा सर्वाधिक कार विक्री गर्ने ब्राण्ड बन्न सफल भयौं । त्यसमा मैले व्यक्तिगत रूपमा र टाटा मोटर्सको प्रतिनिधिको रूपमा गर्व गर्ने अवस्था बनेको छ ।

नेपालको अटोमोबाइलमा ईभीको स्वीकार्यता अन्य अटोमोबाइल मार्केटको तुलनामा राम्रो छ भन्ने बुझिन्छ । यसमा टाटाको अनुभव कस्तो रह्यो ?

नेपाल प्राकृतिक रूपमै ईभीको लागि उपयुक्त छ । त्यसमा नेपालीको नयाँ चिज प्रयोग गर्ने बानीले ईभी सफलतातर्फ गएको हो । दक्षिण पूर्वी एशियामा हेर्ने हो भने नेपालीहरू नयाँ विषय र वस्तुको प्रयोग गर्न हिच्किचाउँदैनन् । यहाँ मानिसहरू उपयोगिता हेर्छन्, अनि आकांक्षा खोज्छन् । त्यसैले उनीहरूलाई ईभीमा जान कठिन भएन ।

अर्को कुरा नेपाल भौगोलिक हिसाबले सानो देश हो । यहाँको राजधानीबाट अर्को ठूलो सहरको दूरी ३०० देखि ४०० किलोमिटर भित्रै छ । अधिकांशमा सहर त २०० देखि ३०० किलोमिटरमा नै पुग्न सकिन्छ । त्यसो हुँदा २५० किलोमिटर रेन्ज दिने ईभीमा हामी बिना थप चार्ज गरेर सिधै यात्रा गर्न सक्छौं ।

नेपालमा औषत २००–२५० किलोमिटरको बीचमा रेन्ज दिने गाडीलाई फास्ट चार्जरको आवश्यकता नै पर्दैन । रेन्ज इन्जाइटीकै कारण धेरै देशमा ईभीको विक्री बढ्न सकेको छैन । त्यसमा पनि नेपालमा आफ्नै क्लिन इनर्जीको उत्पादन बढ्दै गएसँगै आम नागरिकमा पनि ईभीको प्रयोग बढाउनु पर्छ भन्ने परेको बुझ्न कठिन पर्दैन । त्यसैले त पहिलो कार किन्नेले पनि ईभी किन्न थालेका छन् ।

सहरी क्षेत्रमा काम गर्ने प्रोफेशनलहरूले औसतमा दैनिक ३० किलोमिटर यात्रा गरेको देखिन्छ । यस हिसाबले हाम्रा ईभी हप्तामा १ पटक भन्दा धेरै चार्ज गर्नु पर्दैन । त्यही कारण हामीले नसोचेको रफ्तारमा विद्युतीय सवारीको माग बढी रहेको छ । त्यसैले त नेक्सन ईभीले राम्रो व्यापार पाउन सफल भएको हो ।

अर्को कुरा नेपाल सरकारले पनि करका दरमा सहुलियत दिएर ईभी किन्न प्रेरित गरिरहेको छ । नत्र कम्बस्चनभन्दा झण्डै तीन गुणा महंगो लागत मूल्य रहेको ईभी कम्बस्चन भन्दा २५ प्रतिशत सस्तो किन्न पाइने थिएन ।

विद्युतीय सवारीसाधनमा देखिएको आकर्षणलाई भोलिका दिनमा कायम राख्न सम्बन्धित सरोकारवालाको भूमिका कस्तो हुन पर्छ ?

यदि कसैले आईसी इन्जिनको मार्केट खुल्ला भएसँगै, ईभीको बजार घट्ने र फेरि कम्बस्चनको विक्री बढ्ने भन्ने हुँदैन । यहाँ कुनै सुपेरियर टेक्नोलोजी छ भने मात्रै स्वीकार गरिन्छ । यहाँ कुनै दिन पेट्रोल सकिन्छ, घोडा चढौं भन्ने अवस्था थियो । अब घोडा होइन त्योभन्दा गज्जबको टेक्नोलोजी भएको कार आएको छ । त्यसलाई पेट्रोल चाहिँदैन । त्यसैले इन्टरनल कम्बस्चन (आईसी) मा बजार फर्कने सोच्नै सकिँदैन ।

हाम्रो विद्युत् उत्पादन बढ्दो क्रममा रहनु, महंगो पेट्रोलियम पदार्थको कारण व्यापार सन्तुलन बिग्रनु र वातावरणप्रति राज्य निकै सजक हुनुले नेपालमा ईभीको विक्री निकै बढ्ने आँकलन गर्न सकिन्छ । अबको ३ वर्षमा थप ४ हजार मेगावाट बिजुली उत्पादन गर्न लागेको देशमा पेट्रोल गाडी ल्याएर पेट्रोल जलाउने विषय धेरै सान्दर्भिक पनि छैन ।

हाम्रो देशको अर्को सम्भावना भएको र जीडीपीमा योगदान गर्दै आएको पर्यटन हो । त्यसको लागि पनि ईभीको महत्व धेरै छ । यसमा धेरैभन्दा धेरै मानिसको आकर्षण कायम राख्न अन्य देशले जस्तै नेपालले पनि विद्युतीय सवारी साधनका लागि पार्किङ निःशुल्क, वार्षिक करमा छुट जस्ता उपाय अपनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण मार्फत सरकारले फास्ट चार्जर जडान गरिरहेको छ । केही स्थानमा संचालन भइसकेका छन् भने केही स्थानमा जडान हुँदैछन् । विक्रेताले पनि विक्रीपछिको सेवा चुस्त बनाउनुपर्छ । गाडी किनिसकेपछि ग्राहकले झन्झटरहित सेवा पाउनुपर्छ । कुनै पनि समस्या आउँदा तीन महिना पर्ख भन्ने अवस्था आउनु भएन । विद्युतीय सवारी साधनमा सबैभन्दा महत्वपूर्ण भाग भनेको ब्याट्री र मोटर हो । यसको सर्भिसको लागि आफूलाई तयार गर्नु पर्छ ।

अधिकांशलाई ईभीमा ८ वर्षपछि ब्याट्री बिग्रिन्छ र यसलाई पूर्णरूपमा परिवर्तन गर्दा धेरै लागत लाग्छ भन्ने छ । तर त्यस्तो हुँदैन, मोड्युल लेबलमा परिवर्तन गर्न सकिन्छ । विद्युतीय सवारीसाधनमा ब्याट्री बिग्रिँदा पूर्णरूपमा ब्याट्री खराब भएको हुँदैन । त्यस भित्रको केही सेल बिग्रिएको हुन्छ । हाल त्यसको सेल पूर्ण रूपमा परिवर्तन गर्न नसके पनि टाटाले मोड्युलमा परिवर्तन गर्न सक्ने भएको छ ।

ईभीको संख्या वृद्धि भएसँगै हाइवेमा भएका चर्जिङ स्टेशनमा लामो लाइन देखिन थालेको छ, यसलाई कसरी सम्बोधन गर्ने ?

हामीले सुरूमै एउटा निश्चित संख्यालाई आधार बनाएर प्रत्येक १५० किलोमिटरमा एउटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएका हौं । त्यसले विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूमा हुने रेन्ज एन्जाइटी कम गर्न सकियोस् भन्ने थियो । पछिल्लो समयमा हाम्रो विक्री संख्या ह्वात्तै बढ्यो । अहिले कुनैकुनै स्थानमा चार्जिङ स्टेशनको प्रयोग गर्ने बढेका छन् । त्यसपछि थप गर्ने काम पनि भएको छ । यो नियमित प्रक्रिया हो । बजारमा गाडीको संख्या बढेसँगै चार्जर थप्दै लानुपर्छ । अहिले देशभर हामीसँग १९ वटा फास्ट चार्जर संचालनमा छन् ।

हाम्रो नेटवर्कमा अहिले पनि दैनिक औषतमा एउटा चार्जिङ स्टेशनमा दैनिक एउटा मात्रै गाडी चार्ज भइरहेको छ । कहिलेकाहीँ पीक डिमान्ड हुनु स्वाभाविक हो । चाडपर्व वा बिदाको दिन केही बढ्ला ।

टाटाले जीप ट्रोन टेक्नोलोजी ल्यायो, त्यसपछि ब्याट्री म्यानेजमेन्ट टेक्नोलोजी बनायो । विशेषगरी भारतको वातावरण अनुसार यसलाई निर्माण गरिएको छ । भारत एकदमै गर्मी हुने स्थान हो । भारतको तुलनामा नेपाल केही चिसो छ । टाटाको ब्याट्री म्यानेजमेन्ट सिस्टममा कुलिङ सिस्टम छ तर, हिटिङ सिस्टम छैन । यसले गर्दा चिसो मौसममा चार्ज ड्रेन आउट हुने समस्या छ भनिन्छ नि ?

हिटिङ म्यानेजमेन्टले पावर खपतमा फरक पार्ने होइन । हिटिङ म्यानेजमेन्ट नभएकाले कस्तो फरक पर्छ भनेर टाटाले चिसो स्थानमा यसको परीक्षण गरेको थियो । परीक्षणमा हामीले माइनस १० डिग्रीसम्मको चिसोमा गाडी चलाउन सकिन्छ भन्ने रिजल्ट पायौं । जुन परीक्षण हामीले नेपालमा पनि गरेका थियौं । चिसो मौसममा सवारीमा क्याबिनको हिटरको प्रयोग गर्नाले ब्याट्री कन्जम्सन बढी हुने गर्छ । जसका कारण रेन्ज कम हुन्छ । यो सबै ईभीमा हुने कुरा हो ।

अटो एक्स्पो २०२३ मा टाटाले ईभीको सिरिज नै देखायो । सबैभन्दा कम मूल्यको ह्याचब्याक टियागोको पनि विक्री सुरू हुन लागेको छ । टियागो नेपाल कहिलेसम्म आउला ?

टाटा प्यासेन्जर कारको लागि भारतपछि नेपाल दोस्रो ठूलो बजार हो । नेपालमा हाम्रो ग्रोथ राम्रो छ । यदि कुनै गाडी टाटाले भारतमा ल्याउँछ भने नेपाल पनि आउँछ । टाटा टियागो ईभी एउटा मास प्रडक्ट मोडल हो । टाटा नेक्सन ईभी पछि टियागोले सेग्मेन्टमै फरक छाप छाड्ने आँकलन गर्न सकिन्छ । तर, टियागो ईभीभन्दा पहिला भारतमा लन्च भइसकेका अन्य दुईदेखि तीन नयाँ मोडल छन् । अपडेटेड टिगोर ईभी लन्च गर्ने, पन्च माइक्रो एसयूभी ल्याउने र नेक्सन म्याक्स मोडल ल्याउनु पर्नेछ । त्यसपछि मात्रै टियागो ईभी आउँछ ।

नेपाल सरकारले यही गाडी एसेम्बल गर्दा छुटसँगै अन्य सुविधाहरू दिएको छ, नेपालमै विद्युतीय सवारीसाधन साधनका उत्पादन तथा एसेम्बल कत्तिको सम्भव छ ? यसमा टाटाको योजना के छ ?

यस विषयमा कम्पनीले कुनै पनि ठोस निर्णय गरेको छैन । तर, सिप्रदीले भने यसमा अनुसन्धान गरिरहेको हामीले जानकारी पाएका छौं । नेपालमा एसेम्बल प्लान्ट सञ्चालन गर्न चाहेको खण्डमा टाटा मोटर्सले आएर यसलाई आवश्यक पूर्वाधारहरू निर्माण गरिदिने हो । तर, पछिल्लो समयको आर्थिक अवस्थाका कारण यो योजना आगामी २–३ वर्ष लाग्ने सम्भावना छ । यद्यपि अटो मार्केट वृद्धि भएको अवस्थामा भने कम्पनीले सोही अनुसार योजना बनाएर अगाडि बढ्छ ।

 


Back_to_top