काठमाडौं । नयाँ ब्रान्डको चिनियाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको छ । चीनमा उत्पादन हुने सुनरा ब्रान्डको दुई इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको हो ।
बेनेली तथा किवे मोटरसाइकल विक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा ब्रान्ड नेपाल भित्र्याउने भएको हो । यही फेब्रुअरीको अन्तिम सातादेखि सुनरा रोबो एस र हक को दुई भेरियन्टका स्कुटर विक्री सुरू गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा नेपाल भित्र्याउने तयारी गरेको रोबो एसमा ३ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ७२ भोल्ट २० एम्पीयर आवरको लिथियम आयन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १३५ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
त्यस्तै, अर्को मोडल हक दुई भेरियन्ट ब्याट्री अप्सनमा आउने कम्पनीले जनाएको छ । हक लिड एसिड ब्याट्री तथा लिथियम आयन ब्याट्री दुवै भेरियन्टमा उपलब्ध हुनेछ । हकमा १।८ किलोवाट क्षमताको मोटर रहेको छ । यसलाई एक पटकको फुलचार्जमा ६५ देखि १३० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
सुनरा रोबोमा तीन राइड मोडलका साथै रिभर्स तथा क्रुज कन्ट्रोल मोड उपलब्ध छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । त्यसैगरी, यसमा डबल डिस्क ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम, फिंगर प्रिन्ट स्टार्ट बटन जस्ता फिचर पाउन सकिन्छ ।
यी स्कुटरको मूल्यका बारेमा भने कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन् । मूल्यका बारेमा थाहा पाउन भने अझै केही समय कुर्नुपर्ने हुन्छ ।

