काठमाडौं । लामो आयात प्रतिबन्ध खुल्ला भएसँगै नयाँ कार नेपाल आउन थालेका छन् । यही क्रममा सबैभन्दा पहिला नेपाल आउने मोडल भने हुन्डाई भेन्यू फेसलिफ्ट बनेको हो ।
हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यू फेसलिफ्टको आधिकारीक विक्री आगामी हप्ता गर्न लागेको हो । कम्पनीले आगामी मंगलवारसम्म यसको विक्री सुरु गरिसक्ने जनाएको छ ।
‘आगामी साताबाट विक्री गर्ने तयारी गरेका छौं । सुरुमा तीन भेरियन्ट नेपालमा उपलब्ध हुनेछ’, लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।
हुन्डाई भेन्यू सब फोर मिटर सेग्मेन्टमा सफल एसयूभी हो । सन् २०१९ मा पहिलोपटक बजारमा आएको भेन्यूको यो पहिलो फेसलिफ्ट मोडल हो । कम्पनीले यसको अगाडि ग्रिल र पछाडिको लाइट सेक्सनमा व्यापक परिमार्जन गरेर ल्याएको छ ।
अहिले ३ भेरियन्टमा मात्रै भेन्यू फेसलिफ्ट मोडल नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सुरुमा भेन्यूको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमात्रै नेपाल आउने छ । त्यसमा भेन्यू ई, भेन्यू एस र भेन्यू एसएक्स भेरियन्ट उपलब्ध हुनेछ ।
नयाँ भेन्यूको मूल्य पनि सार्वजनिक भइसकेको छ । कम्पनीले ई भेरियन्टको मूल्य ३९ लाख ९६ हजार, एस भेरियन्टको ४५ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

फेसलिफ्ट भेन्यूमा स्प्लीट हेडल्याम्प सेटअप, एलइडी डिआरएल र टर्न इन्डिकेटर नयाँ डिजाइनमा दिइएको छ । धेरै परिमार्जन भएको पछाडि दिइएको टेललाई जोड्न एलइडी लाइटको स्ट्रीप प्रयोग गरिएको छ । यसले यसअघि सादा लाग्ने पछाडिको भाग कलरफुल देखिएको छ ।
फेसलिफ्ट भेन्यूमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्पोर्टस्, नर्मल र ईकोगरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ । पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम भएपनि यसमा साउन्ड अफ नेचर फिचर थप भएको छ ।

अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको नयाँ भेन्यू हाइटेक फिचरले भरिएको छ । कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट, आइडल टाइम अलर्ट जस्ता फिचर थप भएर आएको छ ।


