काठमाडौं । हुन्डाईको सर्वाधिक सफल मोडल ग्राण्ड आई १० नियोसको फेसलिफ्ट सार्वजनिक भएको छ । हुन्डाईले भारतमा आज शुक्रबारबाट ग्राण्ड आई १० नियोस फेसलिफ्ट सार्वजनिक गरेको हो ।
कम्पनीले यसको मूल्य सार्वजनिक गर्दै बुकिङ समेत खुल्ला गरेको छ । भारतको दिल्ली सहरमा एक्स शोरुम मूल्य ५ लाख ६८ हजारदेखि ८ लाख ४७ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ ।

हुन्डाईले भारतमा सीएनजीमा दुई र पेट्रोल ७ गरी जम्ममा ९ भेरियन्टमा फेसलिफ्ट नियोस सार्वजनिक गरेको हो ।
फेसलिफ्ट ग्राण्ड आई १० नियोसमा फिचर्स थप भएको छ भने एक्सटेरियरमा सुधार गरिएको छ । अपडेटेड भर्सनमा आएको कम्प्याक्ट ह्याचब्याकको बाहिरी भागमा ठूलो फ्रन्ट ग्रिल दिइएको छ ।
यसमा रहेको एलइडी डेटाइम रनिङ लाइट नयाँ प्रयोग गरिएको छ भने अगाडिको बम्पर र नयाँ डिजाइन गरिएको १५ इन्चको डायमण्ड–कट एलोय ह्वील प्रयोग गरिएको छ ।

यसको पछाडिको भाग पनि परिवर्तन गरिएको छ । यसलाई फेसलिफ्ट भेन्युबाट प्रेरित रहेर तयार गरिएको हो । सुरक्षाको लागि चार वटा एयरब्यागसँगै टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, क्रुज कन्ट्रोल, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टाइप-सी चार्जिङ पोर्ट लगायतका फिचर्स समावेश गरिएको छ ।
हुन्डाईले यसमा आफ्नो चर्चित कप्पा इन्जिनको प्रयोग गरेको छ । नेचुरल्ली एस्पीरेटेड १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्ज्ड इन्जिन अप्सन दिइएको छ । यसमा म्यानुअल र अटोमेटीक गियरबक्स अप्सन दिइएको छ ।

