काठमाडौं । सिजी मोटर्सले नेपाल ल्याएको ‘जीयाङ्सु हाउजी अटो’को उत्पादन नेपाल आएको छ । कम्पनीले आगामी साताबाट विक्री सुरु गर्ने योजना बनाएको फोर ह्वील ड्राइभ मिनी कार ‘आमाई’ निकै चर्चा भइरहेको कार हो ।
सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार गरिएको मिनी कार फोर ह्वील ड्राइभ अप्सन नेपाल आएको कम्पनीले जनाएको छ । मिनी कारको अगाडि र पछाडि नै मोटर जडान भएको छ । दुबै मोटरको संयुक्त पीक पावर भने २४ किलोवाट छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।
‘हामीले नेपालको सडक कन्डिसनमा ठिक हुने किसिमको गाडी ल्याएका छौं । ग्राहकहरुले पनि निकै उत्शुकताको साथ यसलाई पर्खिरहनु भएको छ । आगामी हप्ताबाट विक्री गर्ने योजना बनाएका छौं’, कम्पनीका सीईओ हेमन्त अग्रवालले भने ।
थ्री डोर अप्सनमा रहेको यो सानो कारमा ४ जना सहजै यात्रा गर्न सक्ने छन् । मिनी ईभी भएकै कारण यसमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा २२५ किलोमिटरसम्म गुडाउन सकिने सिजी मोटर्सको दावी छ ।
१५ इन्चको ह्वील, आकर्षक रेट्रो डिजाइन, राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएलले यसलाई क्लासिक लुक्स प्रदान गरेको छ । कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर देख्न सकिन्छ । फ्रन्ट र टेल डिजाइनमा दिइएको डिजाइन लाइनले कारलाई एसयूभी लुक्स दिन सफल भएको छ ।
म्युजिक सिस्टम, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम पाउन सकिन्छ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि रहेको छ ।
कम्पनीले मिनी कारमा सिट तथा स्टेरिङ ह्वीलमा लेदरको प्रयोग गरेको कारण क्याविन समेत प्रिमियम देखिएको छ । मिनी कारको लम्बाई ३४४४ एमएम, उचाई १५३५ एमएम, चौडाई १५५० एमएम र ह्वीलवेस २३५० एमएम रहेको छ ।
सुरुमा फुल अप्सनसहित आएको हाउजी आमाईको मूल्य करिब २४ लाख पर्ने कम्पनी स्रोतले जनाएको छ । यसको इन्ट्री भेरियन्ट पनि केही समयपछि नेपाल आउने छ । यसको मूल्य भने केही कम हुनेछ ।

