काठमाडौं । यूरोपीन बजारमा जस्तै भारतीय बजारमा पनि साना मोटरसाइकललाई पावरफुल बनाउन सुरु भएको छ । चिनियाँ तथा यूरोपेली बजारमा १२५ सीसी तथा १५० सीसी मोटरसाइकललाई एकदमै पावरफुल बनाउने गरेको पाइन्छ ।
अहिलेको यहि ट्रेन्ड भारतीय मोटरसाइकल उत्पादक कम्पनीहरुमा पनि देख्न पाइन्छ । टीभीएस र बजाजले १२५ सीसी सेग्मेन्टमा आफ्ना उत्पादनलाई अझै पावरफुल बनाउँदै लगेका छन् ।
टीभीएसले गत वर्षबाट विक्री सुरु गरेको रेडर १२५ ले राम्रो बजार पाइराखेको छ । त्यस्तै बजाजले पनि १२५ सीसी सेग्मेन्टमा तीनभन्दा धेरै मोटरसाइकल विक्री गरिरहेको छ । ती मध्ये सबैभन्दा पावरफुल मोडलको रुपमा पल्सर एनएस १२५ हो ।
कम्यूटर सेग्मेन्ट भएर पनि दुबै मोटरसाइकल पावर र डिजाइनको कारण चर्चामा रहेका मोडल हुन् । नेकेड स्ट्रीट फाइटर डिजाइनमा उपलब्ध बजाज पल्सर एनएस १२५ र टीभीएस रेडर १२५ निकै एकदमै आर्कषक लाग्छन् ।
यस्तोमा ग्राहकलाई बजाज एनएस किन्ने कि टीभीएस रेडर किन्ने भन्ने दुबिधा रहन सक्छ । त्यसैले आज हामीले नेपाली बजारमा विक्री हुने १२५ सीसी सेग्मेन्टका दुई मोटरसाइकलको तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।
पर्फमेन्स
टीभीएस रेडर १२५ मा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १२.२ बीएच पावर तथा ६००० आरपीएममा अधिकतम ११.२ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी, पल्सर एनएसको लिगेसी बोकेको एनएस १२५ मा १२४.४ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम ११.६ बीएच पावर तथा ७००० आरपीएममा अधिकमत ११ एनएम टर्क जेनेरेट गर्छ । यसरी हेर्दा टीभीएस रेडर १२५ केहि पावरफुल देखिन्छ ।
यी दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
फिचर
पल्सर एनएस १२५ मा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
टीभीएस रेडरमा फुल डिजिटल कन्सोल, गियर इन्डिकेटर, टप स्पीड रेकर्डर, हेलमेड रिमान्डर, युएसबी चार्जर, डिस्क ब्रेक, एलइडी लाइट्स जस्ता फिचर रहेको छ । यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
माइलेज
यी दुबै मोटरसाइकलमा पावरफुल इन्जिनका साथसाथै यसको माइलेज पनि राम्रो दिने मोटरसाइकलमा पर्छन् । बजाज एनएस १२५ ले प्रतिलिटर ४९ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । यो मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्याङ्क रहेको छ ।

त्यस्तै टीभीएसले ५७ किलोमिटर माइलेज दावी गरेको छ । यसमा १० लिटर क्षमताको फ्युल ट्याङक दिइएको छ ।
यी दुई मोटरसाइकलमा टीभीएस रेडर १२५ ले माइले ज्यादा दिने देखिन्छ ।
मूल्य
टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले रेडर १२५ को मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।
त्यस्तै बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको छ । मूल्यका हिसाबमा बजाज एनएस १२५ केहि महंगो छ ।

