उपत्यकाको ५५ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान हुने

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको विभिन्न ५५ स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया सुरु गरेको छ । विभागले अहिले संचालनमा रहेका पुराना लाइटलाई विस्थापन र नयाँ जडान सहित उपत्यकाको करिब ५५ स्थानमा स्मार्ट लाइट राख्न लागेको हो ।

अहिले संचालनमा रहेका स्थानमा निकै पुरानो टेक्नोलोजीमा आधारित ट्राफिक लाइट भएको कारण एकै स्थानबाट कन्ट्रोल गर्न मिल्ने प्रविधिको नयाँ लाइटले विस्थापन गर्ने योजना तयार भएको विभागको भनाई छ ।

‘उपत्यकामा ट्राफिक लाइटको समस्या छ । त्यो समस्या समाधान गर्न विभाग चुकेकै हो । अब त्यसको दिर्घकालीन समस्या समाधान गर्न हामीले नयाँ प्रविधिको लाइट जडान गर्न अध्ययन गरिरहेका छौं । चाँडै अध्ययन सकेर ठेक्का प्रक्रियामा जानेगरी काम गरिरहेका छौं’, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले भने ।

थापाका अनुसार अहिले मुख्यतया ट्राफिक धेरै हुने चोकहरुमा नयाँ लाइट जडान हुनेछन् । यसरी जडान भएको लाइट कम्तीमा १० वर्ष राम्रोसँग काम गर्ने किसिमको हुनेछ ।

‘हरेक ५/७ वर्षमा नयाँ टेक्नोलोजीमा आधारित ट्राफिक लाइटहरु आइरहेका छन् । हामीले ३० वर्ष पुरानो टेक्नोलोजीलाई विस्थापन गरेर नयाँ लाइट राख्न लागेका हौं’, थापाले भने ।

सडक विभाग माताहत रहेको थापाथली, गौशाला, मद्मोदयमोड, बागबजार, ज्ञानेश्वर मोड जस्ता स्थानमा निकै पुरानो टेक्नोलोजीमा आधारित सडक बत्ती छन् । जुन आवश्यकता अनुसार चलाउन कठिन भएको कारण सडकमा रहने ट्राफिक प्रहरीले बन्दै गर्दै आएका छन् ।

अब उपत्यकाका हरेक ठूला चोकमा ट्राफिक लाइटको ब्यवस्था गर्नेगरी विभागले काम अगाडि बढेको जनाएको छ । सडक विभाग बाहेक महानगरले पनि ट्राफिक लाइट राख्ने काम गर्दै आएको छ ।


Back_to_top