काठमाडौं । अमेरिकी विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनी टेस्लाले आफ्ना कारहरुको मूल्य घटाएसँगै अन्य ब्राण्डहरुले यसमा आश्चर्य ब्यक्त गरेका छन् । टेस्लाले अमेरिका, चीन र यूरोपको बजारमा जनवरी २०२३ बाट लागु हुनेगरी मूल्य घटाएको थियो ।
टेस्लाले आफ्नो मोडल अनुसार ५०० डलरदेखि ५ हजार डलरसम्मले मूल्य कटौती गरेको हो ।
फ्रेन्च कार निर्माता रेनोका सीईओ लुका मी डिइओले टेस्लाको निर्णयलाई ‘डिजास्टर’को संज्ञा दिएका छन् । उनले फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिदै भनेका छन्, ‘यो टेस्लाका गाडी चढिरहेका ग्राहकको लागि झन् खराब कुरा हो । उनिहरुले महंगोमा किनेको गाडी अहिले सस्तो भयो । त्यसले उनिहरुको ब्राण्ड प्रतिको ‘कन्फिडेन्स’ गुमेको छ ।’

टेस्लाको सीईओ इलन मस्कको निर्णयपछि बजारमा ईभीको मूल्यलाई लिएर विभिन्न टिका–टिप्पणी हुँदै आएका छन् । टेस्लाको निर्णयले ईभी उत्पादनमा अर्बौ रुपैयाँ लगानी घोषणा गर्दै आएका कम्पनीहरु ‘प्राइस वार’को शिकार हुनु पर्ने हो कि ? भन्ने चिन्ता रहेको देखिन्छ ।
यूरोपीयन, अमेरिकन र अन्य एशियन ब्राण्डको ईभी उत्पादन लागत अहिले पनि बढ्दो क्रममा रहेको छ । तर, चिनियाँ ब्राण्डले पछिल्ला १० वर्षमा झण्डै ५० प्रतिशतले लागत घटाउन सफल भएसँगै चीनमा उत्पादन भएका ईभी विश्व बजारमा सफल हुँदै गएका छन् । यहि कारण टेस्लाले आफ्नो मूल्य घटाएको सहजै अनुमान लगाउन सकिन्छ ।
टेस्लाले मूल्य कटौती गर्दा धेरै कम्पनीलाई आफ्नो ईभीको मूल्य घटाउनु पर्ने दवाव बढेपनि रेनोले भने आफु ‘प्राइस वार’मा नलाग्ने जनाएको छ । तर, भविष्यमा उत्पादन बढ्ने र लागत कम हुने प्रक्षेपण भइरहेका छन् । यसले ईभी किन्न चाहनेलाई सुखद सन्देश दिएको छ ।

