काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा दुईपांग्रे सवारी साधन आयातमा उच्च गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको सात महिना मोटरसाइकल तथा स्कुटर आयात ६३ प्रतिशतले घटेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म ७१ हजार २२५ यूनिट दुईपांग्रे सवारी साधन नेपाल भित्रिएको छ । जबकी गत वर्षको सोही अवधिमा १ लाख ८९ हजार ९२७ यूनिट भित्रिएको थियो ।
सरकारले १५० सीसीदेखि माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध, तरलता अभावका कारण सहजै ऋण नपाउने अवस्था हुँदा आयातमा भारी गिरावट आएको हो ।
सात महिनाको अवधिमा १२५ सीसीसम्मका मोटरसाइकल ४८ हजार ७६८ यूनिट आयात भएको छ । त्यस्तै, १५० देखि २०० सीसी सेग्मेन्टमा १९ हजार ५०० हाराहारीमा मोटरसाइकल आयात भएको छ ।
यो अवधिमा ३५० सीसीका मोटरसाइकल १३२ यूनिट आयात भएको छ ।
५०० सीसीभन्दा माथि शून्य आयात
यो आर्थिक वर्षको सात महिनामा ५०० सीसीभन्दा माथिका मोटरसाइकल आयात शून्य रहेको छ । गत आवको सोही अवधिमा ५ यूनिट ५०० सीसी माथिका मोटरसाइकल आयात भएको थियो ।


