कारमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी ५ कुरा

काठमाडौं । आज शुक्रबार हो । शुक्रबार धेरै जसो मानिसहरू आफ्नो व्यस्त दैनिकीलाई विश्राम लगाउँदै फ्रेस हुन जाने गर्छन् । अलि लामो बिदामा कोही साथीभाई, कोही परिवारका साथ घुमफिरमा निस्कने गर्छन् ।

पछिल्लो समय ‘विकएन्ड’ मनाउनका लागि लामो दूरीको यात्रामा निस्कने प्रचलन बढ्दै गएको छ । यसरी घुमफिरमा जानेलेहरूले कारलाई आफ्नो यात्राको सारथी बनाउने गरेका छन् ।

कारमा बिदा कनाउन जाँदा वा लामो दूरीको यात्रा गर्दा चालकले धेरै कुरा थाहा पाइराख्नु पर्दछ । यहाँ हामीले आफ्नो कार यात्रालाई रमाइलो र यादगार बनाउन आवश्यक हुने र विशेष ध्यान दिनुपर्ने मुख्य ५ विषयको बारेमा चर्चा गरेका छौं ।

 १. कारको अवस्था जाँच गर्नुहोस् : सुरूआतमा तपाईंले कुनै पनि लामो दूरीको यात्रा गर्नु अघि आफ्नो कारको अवस्था राम्रो भए नभएको जाँच गर्नुहोस् । यदि तपाईंको कार फिट छ भने तपाईं बिना कुनै झन्झट आफ्नो परिवार वा साथीहरूसँग रमाइलो यात्रा गर्न सक्नुहुनेछ । अन्यथा, बीच बाटोमा गाडी बिग्रिएमा यात्राको रमाइलो खल्लो हुन सक्छ । त्यसैकारण, लामो यात्रा गर्नुअघि एकपटक कारलाई ठिक भए वा नभएको जान्न सर्भिस सेन्टरमा लैजानुहोस् । गाडीमा केही समस्या देखा परे तुरुन्तै समस्याको समाधान गर्न सकिन्छ ।

२. ह्वील अलाइनमेन्ट ख्याल गर्नुहोस् : गाडीलाई सडकमा गुडाउने क्रममा सडकमा रहेका खाल्डाखुल्डीमा टायर लाग्दा धेरैजसो अलाइनमेन्ट निस्कने हुन्छ । यस्तो अवस्थामा कार एक साइडमात्र चलाउन सकिन्छ । अन्यथा, सही दिशामा राख्न परेको अवस्थामा भने यसको स्टेयरिङको प्रयोग पटकपटक गरिरहन पर्छ। यसोगर्दा कारको टायरको आयु पनि घट्दै जाने सम्भावना हुन्छ । त्यसैकारण कार ड्राइभ गर्दा त्यसको ह्वील अलाइनमेन्ट पनि बेला बेला याद गर्दै गर्नुहोला ।

३. भैपरी आउने जोखिमका लागि तयार रहनुहोस् : दुर्घटना कहाँ र कस्तो अवस्थामा हुन्छ भन्ने केही थाहा हुन्न । यद्यपि यसो नहोस् भन्दै भैपरी आउने जोखिममा लागि भने आफू तयार हुन आवश्यक छ । त्यसैले आफ्नो कारमा सधैं आगो निभाउने उपकरण राख्नुहोस् । यसले यात्राको क्रममा कुनै कारणले कारमा आगलागी भएमा तुरुन्तै ठूलो क्षति हुनेबाट बच्न सकिन्छ । प्रायस् आगो निभाउने उपकरण सानो साइजमा हुने गर्छ । त्यसैले यसलाई गाडीको कुनै भागमा आरामसँग राख्न सकिन्छ।

४. जम्पर केबलको प्रयोगबारे जान्नुहोस् : मौसम परिवर्तन भएका कारण वा कुनै कारणवश अधिकांश कारको ब्याट्रीमा डिस्चार्ज हुने गरेको पनि पाइन्छ । यसले गाडी स्टार्ट गर्न निकै समस्या हुने गर्छ । त्यसैले यस्तो अवस्थामा तपाईंले आफ्नो कारमा रहेको जम्पर केबलको प्रयोग गर्दै अर्को कारको मद्दतले आफ्नो कारको ब्याट्री चार्ज गर्न सक्नुहुन्छ।

५. प्राथमिक उपचार किट कारमा राख्नुहोस् : पछिल्लो समय सार्वजनिक हुने अधिकांश कार निर्माता कम्पनीहरूले नयाँ कारको साथमा प्राथमिक उपचार किट पनि उपलब्ध गराउँदै आएका छन् । यदि तपाईंको कार केही वर्ष पुरानो छ र किट नभएको अवस्थामा भने लामो यात्रा गर्नु अघि केही औषधिहरू लिएर पर्सनलाइज्ड किट तयार गर्नु राम्रो हुन्छ । यसोगर्दा यात्राका क्रममा तपाईंलाई वा अरू कसैलाई आषधी वा कुनै प्राथमिक उपचार आवश्यक परेमा नजिकै गाडी रोकी राख्नुपर्ने नहुन सक्छ ।


Back_to_top