६ तस्विरमा हेर्नुहोस् नेपाल आएको सस्तो ईभी (फिचरसहित)

काठमाडौं । जीमीनी इन्कर्पोरेट प्रालिको सोलार प्यानल जडान भएको रेसेन्स मिनी ईभी नेपाल आइपुगेको छ । नेपाली बजारमा उपलब्ध भएका एसयूभीभन्दा पनि यो मिनी सिटी कार उच्च ग्राउन्ड क्लियरेन्स भएको गाडी हो ।

कम्पनीको दावी अनुसार यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको छतमा शोलार प्यानल जडान भएको छ । उक्त प्यानलको सहायताले मिनी कारको रेन्ज ३० प्रतिशतले बढ्ने कम्पनीका डाइरेक्टर सुवास शर्माले बताए ।

यो मिनी कार विशेषगरी सहरी क्षेत्रको लागि उपयुक्त हुने कम्पनीको भनाई छ । यसमा ३२० एम्पायर २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । त्यसैगरी, मोटर भने निकै सानो १५ किलोवाट क्षमताको छ । सानो मोटर र छतमा सोलार प्यानल रहेका कारण यसले नेपालको सडकमा न्यूनतम २०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

अटोमेकरका अनुसार भने यो गाडीलाई ईको मोडमा ड्राइभ गर्दा अधिकतम २४० देखि ३०० किलोमिटर र ड्राइभ मोडमा अधिकतम २०० देखि २४० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

यो मिनी कारलाई न्यूनतम ९० देखि अधिकतम १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । यसको पीक टर्क भने १३२ एनएम रहेको छ ।

रेसेन्स मिनी ईभीको अगाडिको भाग डे टाइम रनिङ लाइट, स्टेरिङ ल्याम्प, कम्बिनेसन हेडलाइट, आकर्षक टेल लाइट, फग लाइट, रिभर्स लाइट, क्लियरेन्स ल्याम्प लगायत दिइएको छ ।

यसको अगाडि हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर, इनर मिरर लगायत पाउन सकिन्छ । सुरक्षाका लागि भने यस मिनी कारमा लक ब्रेक सिस्टम, ब्रेक असिस्ट सिस्टम, इपिएस, रियर भ्यु क्यामेरा, चार्जिङ लिकेज प्रोटेक्सन, चाइल्ड लक, ओभर हिट प्रोटेक्सन, एन्टी कोलाजिन बफर लगायत फिचर्स उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार मिनी सिटी कार सामान्य घरायसी बिजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो कारको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई १५५० एमएमको रहेको छ । यसको ह्वील बेस २३०० एमएम रहेको छ भने बुट स्पेस १८५ लिटरको दिइएको छ ।

जीमीनी इन्कर्पोरेट प्रालिले यस ईभीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ निर्धारण गरेको छ । यो ईभी खरिद गर्न चाहनेले १ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल यो ईभी खरिद गर्ने ग्राहकका लागि कम्पनीले बाहिरी पार्ट्स र मोटरमा केवल १ वर्षको वारेन्टी दिएको छ । ब्याट्रीमा भने ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।


Back_to_top