कम मूल्यका दुई ईभी, यस्ता छन् ७ भिन्नता (मूल्यसहित)

काठमाडौं। पछिल्लो समय नेपाली बजारमा मिनी सिटी कारको आयात बढ्दै गएको छ । कम मूल्य पर्ने र सहरी क्षेत्रमा बढी उपयुक्त हुने यस्ता ईभी आयात गर्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।

एक पटक लगानी गर्दा हुने, वातावरण प्रदुषण नगर्ने, साँघुरा सडकमा पनि सहजै गुडाउन सकिने लगायत कारणले पनि अहिले मिनी ईभीका प्रयोगकर्ता पनि बढिरहेका छन् ।

यसैबीच, आज हामीले नेपाल आएका दुई चाइनीज ब्राण्ड हेनरी र रेसेन्स मिनी ईभीको ब्याट्री, रेन्ज, लगायतका विषयमा समानता र फरक केलाउने प्रयास गरेका छौं ।

पायोनीयर वर्ल्डवाइडले हेनरी मिनी ईभी विगत एक वर्षदेखि नेपालमा विक्री वितरण गर्दै आएको छ । त्यस्तै जीमीनी इन्कर्पोरेट प्रालिले रेसेन्सको आरसी ३५०डी मोडलको मिनी ईभीको आधिकारिक रुपमा विक्री गर्ने तयारी गरिरहेको छ । रेसेन्सका ईभी नेपाल भने आइसकेका छन् ।

यी दुवै ब्रान्डका मिनी ईभी चीनमा उत्पादन भएका हुन् । समान मूल्य रहेका यी दुबै कार इन्ट्री लेवल ईभी किन्न चाहने ग्राहकलाई लक्षित गरेर ल्याइएका मोडल हुन् ।

मूल्य

कम्पनीले रेसेन्स मिनी ईभीको सुरुवाती मूल्य २४ लाख ९९ हजार रहेको छ भने हेनरी ईभीको मूल्य २३ लाख ५० हजार रहेको छ । मूल्यको हिसावले हेनरी कम मूल्यमा किन्न पाइन्छ ।

कारको साइज तथा बनावट

हेनरी रेगुलर ह्याचव्याक कारको डिजाइनमा बनेको छ । यसको बनावट बाटोमा भेटिने अन्य कम्पनीको कारहरु जस्तै रहेको छ । यो मिनी कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ ।

यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ । ग्राहकले यसमा सेलेरियो वा सेन्ट्रोमा जस्तै १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

यसैबीच, रेसेन्स मिनी ईभीको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई १५५० एमएमको रहेको छ । यो ईभीको ह्वीलबेस २३०० एमएम रहेको छ ।

नेपाली बजारमा उपलब्ध भएका एसयूभीको तुलनामा रेसेन्स मिनी सिटी कारमा उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । तर, गाडीको उचाई धेरै देखाउँदा राम्रो देखिएको छैन । यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम रहेको छ ।

इन्टेरियर

हेनरीको इन्टेरियर बडी कलरसँग म्याच गराइएको छ । पीयू लेदर सिट र ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम हेनरीमा पाउन सकिन्छ । साथै, दुई स्पीकर, यूएसबी पोर्ट, व्लुटुथ कनेक्टीभीटी, एसी, हिटर, रियर पार्किङ सेन्सर र पार्किङ क्यामरा यसमा पाउन सकिन्छ ।

हेनरी कारमा सबै ढोकामा पावर विन्डो, गियर कन्ट्रोल सुइचहरु ड्यासबोर्डको सेन्टरमा दिएको छ । त्यसको ठिक तल एसी कन्ट्रोल सुइचहरु पाउन सकिन्छ । यसमा इको र स्पोट्स मोडगरी दुई मोडमा चलाउन सकिन्छ । यसमा म्यानुअल ह्याण्ड ब्रेक रहेको छ ।

रेसेन्स ईभीको इन्टेरियर पनि आकर्षक छ । यसको अगाडि हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर, इनर मिरर लगायत पाउन सकिन्छ । साथै, यसमा फोन चर्जीङ इन्टरफेस, व्लुतुथ कनेक्टिभीटि, एसी, मोबाइल इन्टरनेट, एस्ट्रे लगायत पाउन सकिन्छ ।

दुबै कारमा फ्रन्ट सिटको अगाडि बीचमा ओपन स्पेश रहेको छ । जसले गर्दा अगाडि बस्ने दुबै चालक र यात्रुलाई धेरै लेग स्पेश पाउन सकिन्छ ।

एक्टेरियर डिजाइन

हेनरीको बनोट बक्सी टलव्वाय स्टाइलको छ । यसको अगाडि आकर्षक डिजाइन ठूलो साइजको हलोजीन हेडल्याम्प तथा क्लोज ग्रिल रहेको छ । अगाडिको बम्पर डिजाइन मस्कुलर दिएको छ । रियर ह्वील ड्राइभसहित आउने यो कारमा १३ इन्चको एल्मुनीयम ह्वील पाउन सकिन्छ ।

रेसेन्स मिनी ईभीको अगाडिको भागमा डे टाइम रनिङ लाइट, स्टेरिङ ल्याम्प रहेको छ । यसमा कम्बिनेसन हेडलाइट, आकर्षक टेल लाइट, फग लाइट, रिभर्स लाइट, क्लियरेन्स ल्याम्प पनि पाउन सकिन्छ । यो ईभी पनि रियर ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।

बुट स्पेस

हेनरीको २०० लिटरको बुट स्पेस पाउन सकिन्छ । रेसेन्समा भने १८५ लिटरको बुट स्पेस दिइएको छ । पछाडिको सिटलाई फोल्ड गर्ने हो भने यसको बुटस्पेस बढाउन सकिन्छ ।

मोटर तथा व्याट्री साइज

रेसेन्स र्इभीमा ३२० एम्पायर २३ किलोवाट आवर क्षमताको टर्नरी लिथियम आयोन ब्याट्री दिइएको छ । यसमा मोटर भने निकै सानो १५ किलोवाट क्षमताको रहेको छ । सानो मोटर र छतमा सोलार प्यानल रहेका कारण यसले नेपालको सडकमा न्यूनतम २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।

रेसेन्स कारलाई न्यूनतम ९० देखि अधिकतम १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । यसको पिक टर्क भने १३२ एनएम रहेको छ । कम्पनीले यो इभीको मोटरमा १ वर्षको वारेन्टी दिएको छ भने ब्याट्रीमा ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।

हेनरीमा भने १७ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसलाई एक पटकको फुल चार्जमा २१५ किलोमिटर चलाउन मिल्ने कम्पनीको दावी छ । यसलाई ३.३ किलोवाटको चार्जरले ५ देखि ६ घण्टामा फुल चार्ज गर्नेछ ।

रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको कारमा ३५ किलोवाट क्षमताको मोटर छ । कम्पनीले यसमा रहेको ब्याट्रीमा ५ वर्ष र मोटरमा ३ वर्षको वारेन्टी दिएको छ ।

सुरक्षा फिचर

हेनरीमा सुरक्षाका लागि तथा इवीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर तथा क्यामरा, रिमोट सेन्टल लक, पावर विण्डो आदि रहेका छन् ।

रेसेन्समा सुरक्षाका लागि लक ब्रेक सिस्टम, ब्रेक असिस्ट सिस्टम, इपिएस, रियर भ्यु क्यामेरा, चार्जिङ लिकेज प्रोटेक्सन, चाइल्ड लक, ओभर हिट प्रोटेक्सन, एन्टी कोलाजिन बफर लगायत फिचर्स उपलब्ध रहेको छ ।


Back_to_top