प्रधानमन्त्री प्रचण्डको हाइड्रोजन कार चढ्ने रहर, यी काम गरे पुरा हुने

काठमाडौं । प्रविधिको विकास र नवीन खोजले जैविक इन्धनको सट्टा क्लीन इनर्जीको प्रयोग बढाउन प्रायास भइरहेका छन् । त्यसको लागि अटोमोवाइल क्षेत्र निकै अगाडि बढिसकेको छ ।

अहिले अटोमोवाइल क्षेत्रमा ब्याट्री इलेक्ट्रीक भेहिकल र हाइड्रोजन फ्यूलसेल कारको उत्पादन र प्रयोगमा सर्वत्र चासो र चर्चा चलिरहेको छ । जापानका गाडी निर्माताले दुई दशक अघि बाटै पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रोजन फ्यूलसेल भेहिकलको उत्पादनमा केन्द्रित भएका थिए ।

वर्षौँदेखि विश्वभर तीव्र रूपमा विकास र चर्चा भइरहेको हाइड्रोजन फ्यूलसेल भेहिकलको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चढ्ने इच्छा जाहेर गरेसँगै यसले नेपालमा थप चर्चा पाएको हो ।

उनले २३ फाल्गुन २०७९मा सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढ्न सल्लाह दिएकाले आफूले कार्यालयमा त्यसका लागि छलफल चलाएको बताएका थिए ।

उनले भनेका छन् ‘म अब हाइड्रोजन गाडी चढ्ने तयारीमा छु । अब हामीले यो ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजन तीर गएर किसानहरुलाई आवश्यक पर्ने मलखाद उत्पादन, यातायात क्षेत्र र अन्य उद्योगको लागि काम गर्नु पर्छ ।’

विश्वमा २२१ वर्ष पहिलेले नै हाइड्रोजनबाट ऊर्जा उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान भएको पाइन्छ । सन् १८०० मा वैज्ञानिक विलियम निकोल्सन र सर एन्टोनी चार्लिस्लेले पानीबाट हाइड्रोजनको मात्रा निकालेर ऊर्जा उत्पादन गर्न सकिने बताएका थिए ।

पछिल्लो समय टोयोटा, हुन्डाई र बीएमडब्लू लगायतका ब्राण्डले हाइड्रोजन फ्यूलसेल कार उत्पादनमा केन्द्रित भइरहेका छन् । उनिहरुले गरेको अनुषन्धान र बनाएका कारले ५ केजी हाइड्रोजनको प्रयोगबाट ५ देखि ६ सय किलोमिटरसम्म रेन्ज दिने गरेको छ । नेपालमा भने हाइड्रोजन ऊर्जाको सम्भावना बारे १६ वर्ष पहिले सन् २००५ देखि छलफल सुरु भएको थियो ।

कोरोना महामारीको सुरुवात भएको वर्ष अर्थात् २०२० देखि यो विषयले थप स्थान पाएको हो । यस विषयमा थप अध्ययन र अनुषन्धान गर्न उर्जा मन्त्रालय अन्तर्गत दुईवटा समितिहरू यसको निम्ति बनाइएका छन् ।

यो विषयमा चर्चा हुँदै गर्दा २०३० सम्ममा नेपालमा शून्य प्रदूषण सवारी नीतिमा जाने भनेकाले हाइड्रोजन सवारी उपयुक्त हुने विभिन्न सरोकारवाला निकायले आफ्नो अभिव्यक्ति दिएका छन् ।

नेपालमा हाइड्रोजनको विषयमा निरन्तर बहस गर्दै आएका काठमाडौं युनिभर्सिटीका सह–प्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराज सिंह थापा भन्छन्, ‘नेपालमा हाइड्रोजनको सम्भाव्यता निकै राम्रो छ । देशमा नै उत्पादन हुने बिजुली पर्याप्त खपत नभएका कारण खेर जाने अवस्थामा यसलाई प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्दा देशको अर्थतन्त्रलाई आत्मनिर्भरता तीर लैजान सहयोग गर्छ ।’

उनले आवश्यक नीति नियम हुने र लगानी गर्ने निकाय भएको हकका नेपालमा व्यावसायिक रुपमै ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकिने बताए ।

हाइड्रोजनको प्रयोगका चुनौती

हाइड्रोजन इन्धनको रुपमा प्रयोग गर्नका लागि सबैभन्दा ठूलो चुनौति यसको ओसार–प्रसार र भन्डारण हो । हाइड्रोजन अन्य जैविक इन्धन र पदर्थको तुलनामा निकै पावरफुल र प्रज्वलनशिल हुने गर्छ । यो समस्या समाधानको लागि भने नेपालमा नै अन–साइट हाइड्रोजन उत्पादन गर्न सकिने थापा बताउँछन् ।

प्राविधिक रुपमा हेर्ने हो भने पनि विद्युतीय सवारी साधनपछि हाइड्रोजनयुक्त सवारी नयाँ प्रविधिको रुपमा विकास भइरहेका छन् । यसलाई प्रावधिक सपोर्टको आवश्यकता रहन्छ ।

तर, हालसम्म यस किसिमका सवारीसाधन आयात र संचलानका लागि कुनै नीति निर्माण गरिएको भेटिदैन । हाइड्रोजनबाट चल्ने कार प्रयोगमा ल्याउनु अघि यसको पूर्वाधार निर्माण गर्नु पर्छ । गाडी ल्याएपछि त्यसको सुरक्षासँग जोडिएका विषयमा कानुन निर्माण गर्नु पर्छ ।

अहिलेसम्म ठूला ईभी निर्माताले नेपालमा विद्युतीय कार नदिनुलाई आगलागी लगायतको समस्या भएको खण्डमा कसरी निराकरण गर्ने जस्ता विषयमा सरकारले ठोस योजना नबनाउनुलाई लिने गरिन्छ । त्यसमा हाम्रो प्रधानमन्त्रीले चढ्ने इच्छा जाहेर गरेको हाइड्रोजन कारको लागि कानुनी बाटो खुल्ला हुनुपर्छ ।

यस किसिमका सवारीमा विद्युतीय सवारीसाधन जस्तै सम्पूर्ण इकोसिस्टमको आवश्यक रहन्छ । इकोसिस्टम भन्नाले त्यसको एनर्जी सप्लाई, फयुल स्टेशन लगायत आवश्यक पूर्वाधारसँगै प्रविधिको विषय सम्बोधन हुनुपर्छ ।


Back_to_top