तयार हुँदै सानो ‘ल्याण्ड रोभर डिफेन्डर’, ईभीमा पनि उपलब्ध हुने

काठमाडौं । ब्रिटिस ब्राण्ड ज्यागुअर ल्याण्ड रोभरले सानो साइजको डिफेन्डर अफरोड एसयूभी बनाउने भएको छ । कम्पनीले सानो साइजको अफरोड एसयूभीको बढ्दो मागलाई सम्बोधन गर्न थ्री डोर ल्याण्डरोभर डिफेन्डर ल्याउन लागेको हो ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने नयाँ सानो साइजको कम्प्याक्ट एसयूभी डिफेन्डरको नाम ‘डिफेन्डर ८०’ हुने सम्भावना छ । ब्रिटिस आइकोनिक मोडल डिफेन्डर विश्वभर चर्चित एसयूभी हो ।

सानो डिफेन्डर ल्याण्डरोभरको डी१० प्लेटफर्ममा बन्ने छ । भारतीय कम्पनी टाटाको स्वामित्वमा ज्यागुअर ल्याण्ड रोभर रहेको कारण प्लेटफर्म सेयरिङ हुनेछ । यही प्लेटफर्मलाई टाटाले ओमेगा आर्क नाम दिएको छ ।

डिफेन्डर ८० मोडलमा १.५ लिटरको थ्री सिलिण्डर इन्जिन रहने छ । कम्पनीले यसलाई टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा ल्याउने अनुमान गरिएको छ । डिफेन्डर अफरोड र सहरी दुबै क्षेत्रमा मानिसले मनपराउने मोडल भएको कारण दुबै ड्राइभिङ सिस्टम यसमा रहने छ ।

विश्वभर ईभीको उच्च माग रहेको कारण ल्याण्ड रोभरले यसलाई कम्बस्चन, प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक गरी तीन फरक पावर ट्रेनमा उपलब्ध गराउने छ । धेरै इन्जिन अप्सनमा आउने भएको कारण ग्राहकले आफ्नो आवश्यकता अनुसारको भेरियन्ट छनोट गर्न पाउने छन् ।

अफरोड फिचर लोडेड रहने डिफेन्डर ८० एसयूभीको अन्तर्राष्ट्रिय बजारमा सिधा प्रतिस्पर्धा फोर्डको ब्रोन्को र जीप रुबीकनसँग हुने सहजै अनुमान लगाउन सकिन्छ ।


Back_to_top