४८ लाख ४९ हजारमै १०० किलोवाटको जेडएस ईभी

काठमाडौं । एमजीको १०० किलोवाट क्षमताको मोटर रहको जेडएस ईभीको बुकिङ खुला भएको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आजदेखि जेडएस ईभीको स्ट्याण्डर्ड रेन्ज मोडलको दुई भेरियन्टमा बुकिङ खुला गरेको हो ।

पारामाउन्टले जेडएस ईभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो ।

गतवर्ष फागुन १५ गते पारामाउन्ट मोटर्सले स्ट्याण्डर्ड र लङ रेन्ज गरी दुई मोडल बजारमा सार्वजनिक गरेको थियो । ग्राहकले ५०० यूनिट हाराहारी बुकिङ गरेर बसे पनि सरकारले चालु आर्थिक वर्षको बजेटबाट भन्सार र अन्तःशुल्क बढाएपछि गाडीको आयात भएको थिएन ।

स्ट्याण्डर्ड रेन्ज मोडलका दुवै भेरियन्टमा १०० किलोवाटको मोटर रहेको छ । स्ट्याण्डर्ड रेन्ज भएको यो मोडलमा पनि लङ रेन्जको जस्तै सुरक्षा फिचर तथा इन्फर्मेशन टेक्नोलोजी लगाएत अन्य फिचरहरु समान रहेको छ । दुई भेरियन्टमा लन्च हुने स्ट्याण्डर्ड रेन्जको हाइमा शनरुफ, भेन्टीलेटेड तथा हिटेड सिट फिचर सुविधाका साथमा लेदरेट सिट छ भने लो भेरियन्टमा यी सुविधा छैन ।

पारामाउन्ट मोटर्सले केही दिनअघि नै लङ रेन्ज मोडलको विक्री सुरू गरेको थियो । ८१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर लङ रेन्ज जेडएस ईभीमा ७२.६ किलोवाट आवरको ब्याट्री प्याक र १३० किलोवाटको मोटर रहेको छ ।

कम्पनीले स्ट्याण्डर्ड मोडलको एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ । जुन पुरानो जेडएस ईभीमा भन्दा ठूलो साइजको ब्याट्री प्याक हो । पुरानो जेडएस ईभीमा ४४.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको थियो ।


Back_to_top