एउटा गाडीको नम्बर प्लेटको मूल्य २ अर्ब !  

काठमाडौं । मानिसहरू गाडीका शौखिन हुन्छन् । कसैलाई नयाँ आरामदायी र एड्भेन्चर गाडी मन पर्छ भने कोही भिन्टेज गाडीलाई जतिपनि तिर्न तयार हुन्छन् ।

तर, हालै दुवइमा भने एक सवारीका पारखीले गाडीको नम्बर प्लेटलाई ठूलो मूल्य तिरेका छन् । दुवइमा भएको एक अक्सनमा ती व्यक्तिले गाडीको नम्बरका लागि ५ करोड ५० लाख दिरहाम (करिब १ अर्ब ९६ करोड नेपाली रुपैयाँ) तिरेका छन् । यो मूल्यमा चलन चल्तीका ब्राण्डका सयौं गाडी खरिद गर्न सकिन्छ ।

पी-७ नम्बरको यो   उक्त नम्बर प्लेटले संसारकै सबैभन्दा महँगो नम्बर प्लेटको रुपमा गिनिज बुकमा नाम समेत लेखाएको छ । शनिबार दुवइमा भएको ‘मोस्ट नोबल नम्बर्स च्यारिटी’ अक्सनमा सो नम्बर प्लेट ५ करोड ५० लाख दिरहाममा लिलाम भएको थियो ।

यसअघि सन् २००८ मा अबुधावीको १ नम्बरको नम्बर प्लेट ५ करोड २२ लाख दिरहाममा लिलाम भएको थियो । त्यसको कीर्तिमानलाई पी-७ ले तोड्न सफल भएको छ ।

भीआईपी कार प्लेट नम्बरको रुपमा रहेको पी-७ को लिलामीको सुरुमै आयोजकले प्रश्न गरेका थिए-१६ वर्षअघि अबुधावीमा एउटा विश्व कीर्तिमान कायम भएको थियो जब एउटा नम्बर प्लेट ५ करोड २५ लाख दिरहाममा विक्री भयो । के हामीले आज एउटा नयाँ कीर्तिमान राख्दैछौं त ?

उक्त लिलामी जुमेरास्थित फोर सिजन्स रिसोर्टमा भएको थियो । सुरुआती बोली डेढ करोड दिरहामबाट सुरू भएकोमा केही सेकेण्डमै तीन करोड दिरहामको बोली लागेको थियो ।

साढे तीन करोड दिरहामको बोली लागेपछि उक्त अक्सन केही बेर सुस्तायकाे थियाे  । टेलिग्राम एपका संस्थापक पाभेल भ्यालेरिभिच दुरोभले त्यो बोली लगाएका थिए । तर केहीबेरपछि लिलाम बढाबढले गति लियो र त्यसको अन्तिम बोली ५ करोड ५० लाख दिरहाम अर्थात् करीब २ अर्ब रुपैयाँ पुग्यो । अन्ततः ती व्यक्तिले नै सो नम्बर प्लेट सकारे । उनले आफ्नो नाम भने खुलाएका छैनन् ।

उक्त लिलामीबाट उठेको रकम भने सिधै ‘१ बिलियन मील एंडोमेंट’ अभियान मा जानेछ । यो अभियानको उद्देश्य सबै भन्दाठूलो रमजान स्थायी खाध्य सहायता कोषको स्थापना गर्नू रहेको छ । यो अभियानलाई यूएईका उपराष्ट्पति तथा प्रधानमन्त्री दुवइका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमले सुरू गरेका थिए ।


Back_to_top