२०७९ मा नेपाल भित्रिएका १० स्कुटर तथा मोटरसाइकल, कुनको मूल्य कति ?

काठमाडौं । वर्ष २०७९ अटोमोबाइल क्षेत्रका लागि निराशजनक वर्ष रह्यो । सरकारले लगाएको आयात प्रतिबन्ध, तरलता अभाव, कर्जामा कडाइ, अर्थतन्त्रमा आएको संकुचन लगायत कारणले सवारी साधनको व्यापारमा ठूलो गिरावट आयो ।

आर्थिक संकट र आयात प्रतिबन्धले पिल्सिएका कारण यो वर्ष व्यवसायीहरूले खासै नयाँ उत्पादनहरू नेपाल भित्र्याउन सकेनन् । यद्यपि, विद्युतीय सवारीमा रूपमा केही नयाँ ब्राण्डहरू भित्रिएका छन् ।

यस वर्ष पनि दुईपांग्रे सवारी साधनको व्यापारमा विगतका वर्षहरूको जस्तै यामाहमा, टीभीएस, बजाज, सुजुकी लगायत ब्राण्डको वर्चश्व रह्यो । मुख्य गरी यी कम्पनीका साथै अन्य कम्पनीहरूले यस वर्ष नेपाली बजारमा केही मोडलका नयाँ मोटरसाइकल तथा स्कुटर भित्र्याए ।

वर्ष २०७९ मा नेपाली बजारमा भित्रिएका मुख्य ब्राण्डका मोटरसाइकल तथा स्कुटरको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

टीभीएस

टीभीएसले २०७९ सालको सुरूआतमा नै अपाचे आरटीआर १६० फोर भीको अपडेटेड भर्सन नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ इन्जिनका साथै विभिन्न फिचरमा समेत अपडेट गरेर अपाचे आरटीआर १६० फोर भीको नयाँ भेरियन्ट विक्री सुरू गरेको हो ।

कम्पनीले ३ लाख ८० हजार ९०० रुपैयाँ मूल्य तोकेर अपाचे आरटीआर १६० फोर भीको अपडेटेड भर्सन सार्वजनिक गरेको थियो । हाल यसको मूल्य ३ हजार रुपैयाँले बढेर ३ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ ।

यामाहा

यामाहाले २०७९ सालमा विभिन्न ४ मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आर १५ भी ४, आर १५ एम, यामाहा एफजेड एक्स र एरोक्स १५५ गरि ४ मोडलमा मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले यामाहा एफजेडएक्सको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर २०७९ को सुरूआतमा नै यसको विक्री सुरू गरेको हो । त्यस्तै कम्पनीले आर १५ एमको मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरू गरेको थियो भने आर १५ भी ४ को मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरको थियो ।

यामाहाले वर्षको अन्तयतिर सार्वजनिक गरेको एरोक्स १५५ स्कुटरको मूल्य भने ४ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

वर्षको अन्तिममा आइपुग्दा यामाहा आर १५ एम र आर १५ भी ४ को मूल्य २५ हजार रुपैयाँ र एफजेडएक्सको मूल्य १४ हजार रुपैयाँले वृद्धि भएको छ ।

बजाज

बजाजले २०७९ को मध्यतिर एन १६० र २५० मोटरसाइकल नेपाली बजारमा भित्र्याएको थियो । कम्पनीले नेपाली बजारमा बजाज पल्सर एन २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ र एन १६० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको सार्वजनिक गरेको थियो ।

त्यस्तै बजाजले डोमिनार ४०० र २५० को बीएस ६ भर्सन समेत नेपाल भित्र्याको थियो । कम्पनीले डोमिनर ४०० बीएसको मूल्य ६ लाख ५४ हजार ९०० र २५० बीएस ६ को ५ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरू गरेको हो ।

हाल बजाज पल्सर एन १६० को मूल्य ४ हजार र एन २५० को मूल्य ५ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।

सुजुकी

सुजुकीले यस वर्ष १२५ सीसी स्पोर्टी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले एभनिस १२५ नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनी २०७९ को मध्यतिर सार्वजनिक गरेको एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरू गरेको थियो । यसको मूल्य अहिले पनि २ लाख ९९ हजार ९०० रुपैयाँ नै रहेको छ ।


Back_to_top