काठमाडौं । उपत्यकाका सडकमा ४० वटा विद्युतीय बस संचालनमा आउने भएको छ । सरकारी स्वामित्वको साझा यातायातले नेपाल ल्याएको ४० वटा विद्युतीय बस पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।
साझाले पहिलो चरणअन्तर्गत खरिद गरेको ४० युनिट बस मध्ये पहिलो लटमा तीन वटा बस नेपाल आएको थियो । बाँकी रहेका ३७ युनिट बस पनि माघमा नै नेपाल आएको भएपनि संचालनमा आउन सकेको थिएन । अब भने पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।
साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरले यी विद्युतीय बसको परिक्षण सफल भएसँगै दर्ता प्रक्रिया र रुट पर्मिटको काम अगाडि बढेको जानकारी दिए । अबको एक महिना भित्रै सबै ४० वटा साझाका विद्युतीय बस काठमाडौंका सडकमा गुड्ने तुलाधरले बताए ।
‘केही टेक्नीकल र कानुनी प्रक्रिया पुराउनु पर्ने थियो । अहिले काम भइरहेको छ । एक महिना भित्रै सबै बस संचालनमा आउँछन्’, संचालक तुलाधरले भने ।
यी विद्युतीय बस चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनीले साझा यातायात सहकारी संस्था प्रालिको लागि उत्पादन गरेको हो । यसका लागि साझाले कुल ३०० वटा विद्युतीय बस खरिद गर्न लागेकोमा पहिलो चरणमा ४० वटा बस नेपाल आएको हो ।
साझाले विद्युतीय बस खरिदका लागि सीएचटीसीसँग एक सम्झौता गरेको थियो । सो सम्झौता अनुसार सीएचटीसीले बस र त्यसलाई आवश्यक चार्जर सप्लाई गर्ने छ भने पाँच वर्षसम्म मर्मत सम्भारको काम पनि गर्ने उल्लेख छ ।
सम्झौता अनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर सीएचटीसीलाई पठाएको थियो । साथै, कर्मचारीको लागि आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टसका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्ने उल्लेख छ ।
विद्युतीय बसका पूर्वाधार र पार्किङ
साझाले यी बससँगै पहिलो लटमा दुई वटा र दोस्रो लटमा १८ वटा गरी कुल २० वटा चार्जर नेपाल ल्याएको छ । कम्पनीले ल्याएको यी चार्जर मध्ये हाल एउटा मात्र चार्जर संस्थाको पुल्चोक स्थित आफ्नै प्राङ्गण सञ्चालनमा रहेको छ । बाँकी रहेका चार्जर भने कुन क्षेत्रमा जडान गर्ने भन्ने एकिन भएको छैन ।
त्यस्तै, पार्किङका लागि पनि पर्याप्त क्षेत्रको अभावका कारण संस्थाले समस्याको सामना गर्दै आएको छ । कम्पनीले हाल केही युनिट आफ्नै प्राङ्गणमा राखेको छ भने केही बनेपा स्थित सप्लायरकै स्थानमा राखेको छ ।
कम्पनीले पछिल्लो समयमा नेपाल टेलिकमको जग्गा खाली हुनलागेको बताउँदै उक्त स्थानमा चार्जिङ स्टेसन र आवश्यक पूर्वाधारको निर्माण गरी अस्थाई रुपमा पार्किङको व्यवस्था गर्ने तयारी थालेको छ ।
२६ सिट क्षमता भएका साझाको विद्युतीय बस अपाङ्गतामैत्री रहेका छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्न सक्ने साझाले बताएको छ ।


