कुन ब्रान्डको सस्तो गाडी कुन ? यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । भाद्र २६ गतेदेखि १३ औं नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा  चलिरहेको छ । चर्चित गाडी निर्माता कम्पनीहरुले अटो शोमा नयाँ मोडलका गाडीहरुको भव्य प्रदर्शन गरिरहेका छन् । 

स्थान अभावका कारण कम्पनीहरुले आफ्ना सबै मोडलहरु मेलामा डिस्प्ले गर्न सकेका छैनन् । नयाँ विशेषता, अफर तथा दशैंतिहार बोनान्जासहित गाडी निर्माता कम्पनीहरुले आफ्ना विभिन्न मोडल बिक्री वितरण गरिरहेका छन् । 

बजारमा आफ्नो बलियो पकड जमाउन सकेका मारुती सुजुकी, हुन्डाई, टोयोटा, टाटा, महिन्द्रा, रेनोजस्ता ब्रान्डहरुले आकर्षक स्टल बनाई सबैको मन लोभ्याउने कोशिस गरिरहेका छन् । 

सुजुकी

सदावहार बजारमा आफ्नो बलियो पकड जमाउने कम्पनी मारुती सुजुकीले अटो शोमा विभिन्न मोडलहरु प्रदर्शन गरेको छ । नयाँ जेनेरेशन स्विफ्ट र ब्रेजालाई प्राथमिकतामा राखेर अटो शोमा भागलिएको कम्पनीले अल्टो ८०० एसटीडी, वागेन आर, सुपर क्यारी, ओम्नी कार्गो भ्यानलगायतका गाडीको प्रमोट गरिरहेको छ । 

कम्पनीले बिक्री गर्ने गाडीमध्ये ओम्नी कार्गो सबैभन्दा कम मूल्यको गाडी हो । जसको मूल्य १० लाख ७९ हजार रुपैयाँ रहेको छ । साथै नाडा अटो शोमा ओमनी भ्यानमा ३५ हजार रुपैयाँसम्म छुट अफर दिइएको छ । 

टोयोटा

चर्चित अटो निर्माता कम्पनी टोयोटा मोटर्सले अटो शोमा आफ्ना विभिन्न मोडलहरु डिस्प्ले गरेको छ । टोयोटाको रस यस वर्षको अटो शोमा अत्याधीक मन पराईएको मध्य एक मोडल हो । 

करोडौं मूल्य पर्ने ल्यान्डक्रुजर भी८ देखि सस्तो इटियोस लिभासम्म कम्पनीले बिक्री गर्दै आईरहेको छ । टोयोटा इटियोस लिभा जी सबैभन्दा सस्तो कार हो, जसको मूल्य ३२ लाख रुपैयाँ रहेको छ । यस कारमा ११९७ सीसी क्षमताको पेट्रोल इन्जिन रहेको छ । 

रेनो

युरोपियन कार रेनोले चार्डपर्वलाई ध्यानमा राखेर शुभलाभ विशेष अफरसहित अटो शोमा आफ्ना नयाँ मोडलहरु ल्याएको छ । कम्पनीले ल्याएका मोडलहरु मध्ये क्विड आरटीओ भेरियन्ट सबैभन्दा सस्तो रहेको छ । यसको मूल्य २१ लख ९६ हजार ६१३ रुपैयाँ रहेको छ भने यसमा १ लाख ४० हजार रुपैयाँ छुट दिइएको छ । कम्पनीले एक वर्षसम्म गाडी वीमा र रोड ट्याक्स फ्रि गर्ने जनाएको छ ।

रेनोको नेपाली बजारमा क्विडको अलावा रेनो डस्टर, रेनो क्याप्चर र रेनो लोजीजस्ता मोडल बिक्री वितरण हुँदै गएका छन् । 

हुन्डाई 

कोरियन अटो ब्रान्ड नेपाली बजारमा धेरै बिक्री हुने मध्येको एक ब्रान्ड हो । जसले अटो शोमा इयोन, ग्रान्ड आई टेन, आई २० एक्टीभ, इलाईट, क्रेटा र इलेक्ट्रीक कार आयोनिकलाई प्रदर्शनीमा राखेको छ ।  

जसमध्ये इयोनको इरा प्लस सबैभन्दा कम मूल्यको गाडी हो । यसको मूल्य १८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस गाडीमा ८१४ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ । 

फोर्ड

अमेरिकन कम्पनी फोर्डका उत्पादनहरु अटो शोको आर्कषणका रुपमा रहेका छन् । फोर्डले अटो शोमा एस्पायर, अल न्यू फिगो, फ्रिस्टाइल, इकोस्पोर्ट, इन्डेभर डीएसएल र अल न्यू रेन्जर डीएसएल गाडी शोकेस गरेको छ । 

फोर्डको एस्पायर एम्बिएन्ट भेरियन्ट सबैभन्दा सस्तो कार रहेको छ । यस कारमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । कारको मूल्य २६ लाख ९० हजार रुपैयाँ रहेको छ । 

ड्याट्सन

ड्याट्सनले अटो शो २०१८ मा जीओ, जीओ प्लस तथा रेडी जीओ मोडलका गाडीहरु ल्याएको छ । सुरुदेखि नै नेपाली बजारमा पाइने सबैभन्दा सस्तो कारको छबि बनाएको यो कारको रेडी गो मोडल सबैभन्दा सस्तो मोडल हो । 

बिभिन्न बैंकसँग मिलेर कम मासिक किस्तामा बिक्री वितरण भइरहेको यो कारको मूल्य १५ लाख २५ हजार रुपैयाँ रहेको छ । 

महिन्द्रा

महिन्द्राले अटो शोमा इलेक्ट्री सेडान कार इभेरिटो र एक्सयूभी ५०० लाई प्राथमिकतामा राखेर प्रर्दशनी गरिरहेको छ । साथै कम्पनीले पिकअप सेग्मेन्टलाई पनि निकै उच्च प्राथमिकतामा राखेर प्रर्दशनी गरिरहेको छ । 

कम्पनीले सार्वजनिक गरेको कारमा ई–भेरिटो सबैभन्दा सस्तो कार हो । कम्पनीले यसको मूल्य २८ लाख रुपैयाँ हारहारीमा रहेको जनाएको छ ।  

टाटा

टाटाले अटो शोमा निकै प्राथमिकताको साथ नेक्सन एटी, टाटा टिगो, टाटा बोल्ट, टाटा टियागो, गेग्जालगायतका मोडल प्रदर्शनीमा राखेको छ । जसमा कम्पनीले टिगोर इभिलाई मुख्य आर्कषणको रुपमा राखेको छ । 

कम्पनीले बिक्री गर्दै आएको टियागो सबैभन्दा सस्तो ह्याच ब्याक कार हो । टाटा टियागोको मूल्य २४ लाख ९५ हजार रुपैयाँ रहेको छ । 

होन्डा

चर्चित अटो निर्माता कम्पनी होन्डाले नाडा अटो शो २०१८ मा विभिन्न मोडलहरु ल्याएको छ । ग्राहक लोभ्याउनका निम्ति बनाइएको आकर्षक स्टलहरुमा ब्रिओ एस एमटी, अमेज एस एमटी, सीभीक आरभीएसआई, सीभीक १.६, सीआरभी १.५ लिटर, आरडब्ल्यू–भीलगायतका मोडलहरु राखिएका छन् । 

स्टलमा राखिएका होन्डाका गाडीहरुमध्ये सबैभन्दा सस्तो गाडी ब्रिओ एस एमटी । यसको मूल्य २९ लाख २५ हजार रुपैयाँ रहेको छ । जसमा ११९८ सीसी क्षमताको पेट्रोल इन्जिन लगाइएको छ । 

निशान

विश्व बजारमा चर्चित अटो निर्माता कम्पनी निशानले नाडा अटो शो २०१८ मा विभिन्न आकर्षक मोडल ल्याएको छ । आकर्षक स्टलमा निशानको माइक्रा, सन्नी, टेरानो, नाभार, एक्स-ट्रेलजस्ता मोडलहरु राखिएको छ । यसमध्ये माइक्रा एक्टिभ सबैभन्दा सस्तो मोडल रहेको छ । यसको मूल्य २६ लाख १० हजार रुपैयाँ रहेको छ । 

फक्सवागेन 

फक्सवागेनले अटो शोमा विभिन्न मोडलका गाडीहरु देखाएको छ । स्टलमा राखिएका विभिन्न गाडीहरुमध्ये पोलो ट्रेन्डलाइन सबैभन्दा सस्तो गाडी रहेको छ । यस गाडीमा १.० पेट्रोल इन्जिनका साथै ९९९ सीसी म्यानुअल इन्जिन दिइएको छ । यस कारको मूल्य २५ लाख ५० हजार रुपैयाँ रहेको छ ।


जीप

चर्चित गाडी कम्पनी जीपले अटो शोमा विभिन्न मोडलहरु ल्याएको छ । स्टलमा राखिएका विभिन्न आकर्षक मोडलहरुमध्ये सबैभन्दा सस्तो गाडी जीप कम्पासको स्पोर्ट भेरिएन्ट रहेको छ । जसको मूल्य ७४ लाख ९० हजार रुपैयाँ रहेको छ । 

प्यूजो

प्यूजोले नाडा अटो शो २०१८ मा आफ्ना विभिन्न मोडलहरु प्रदर्शन गरिरहेको छ । प्यूजो २००८ अलुर कम्प्याक्ट एसयूभी उसको सबैभन्दा सस्तो मूल्यमा पाइने छ । यस एसयूभीको मूल्य ८२ लाख रुपैयाँ रहेको छ । यस गाडीमा प्यूरटेक टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ भने, ६ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । 


Back_to_top