आफ्नै लक्ष्य भेट्टाउला बीवाइडीले ? यस्तो छ ४ महिनाको विक्री

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले सन् २०२३ मा ३० लाख यूनिट न्यू इनर्जी भेहिकल विक्री गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको थियो । कम्पनीले लिएको लक्ष्य र चार महिनाको विक्री तथ्यांक हेर्दा बाँकी ८ महिनामा त्यो लक्ष्य पूरा गर्न मुस्कील देखिन्छ ।

बीवाइडीले सन् २०२३ को पहिलो ४ महिनामा ७ लाख ६२ हजार ३७१ यूनिट भेहिकल विक्री गरेको छ । यदि कम्पनीले बाँकी ८ महिनामा ३० लाख यूनिटको लक्ष्य भेट्टाउने हो भने अब मासिक २ लाख ८० हजार यूनिटभन्दा बढि सवारीसाधन विक्री गर्नु पर्ने हुन्छ ।

विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले अप्रिल महिनामा २ लाख १० हजार २९५ वटा गाडी बेच्न सफल भएको छ । यो आंकडा अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा ९८.३१ प्रतिशतले बढि हो ।

एक महनाको अवधिमा बीवाइडीले २ लाख ९ हजार ४७६ यूनिट प्यासेन्जर कार विक्री गरेको हो । बाँकी ८२८ यूनिट कमर्शियल भेहिकल विक्री गर्न सफल भएको हो । प्यासेन्जर भेहिलकल मध्ये पनि पूर्ण विद्युतीय कारको संख्या १ लाख ४ हजार ३६४ यूनिट र १ लाख ५ हजार १०३ यूनिट प्लगइन हाइब्रिड भेहिकल हुन् ।

केही महिना अघिसम्म चिनियाँ बजार बाहेक अन्य देशमा ठूलो परिमाण नपाएको कम्पनीले अप्रिलमा १४ हजार ८२७ यूनिट प्योर इलेक्ट्रीक कार निर्यात गरेको छ । जुन अघिल्लो मार्च महिनाकोभन्दा १५ सय यूनिटले धेरै हो । मार्च महिनामा १३ हजार ३१२ यूनिट कार निर्यात गरेको थियो ।


Back_to_top