डाउन पेमेन्ट ४ लाख ८० हजार, एक लाख नगद छुटमा नयाँ ईभी

काठमाडौं । सहरी क्षेत्रको लागि उपयुक्त हुनेभन्दै नेपाल आएका साना ईभीहरुको पर्फमेन्सको विषयमा विभिन्न टिका टिप्पणी हुने गरेका छन् । तथापि, थोरै रकम डाउन पेमेन्ट गरेर गाडीको आवस्यकता पुरा गर्न चाहने ग्राहकले सिटी कार खरिद गरेर चलाइरहेका छन् ।

जीमीनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएर २४ लाख मूल्य निर्धारण गरेर विक्री सुरु गरेको रेसेन्स मिनी ईभी किन्न चाहने ग्राहकले ४ लाख ८० हजार डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । कम्पनीले यो मिनी ईभीमा १ लाख नगद छुट दिने जनाएको छ ।

रेसेन्स मिनी ईभीमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । ब्याट्री ठूलो भएपनि यसमा निकै सानो १५ किलोवाट क्षमताको मोटर दिइएको छ । सानो मोटर र छतमा सोलार प्यानल रहेका कारण यसले नेपालको सडकमा न्यूनतम २०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो मिनी कारलाई न्यूनतम ९० देखि अधिकतम १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । यसको पीक टर्क भने १३२ एनएम रहेको छ ।

रेसेन्स मिनी ईभीको अगाडिको भाग डे टाइम रनिङ लाइट, स्टेरिङ ल्याम्प, कम्बिनेसन हेडलाइट, आकर्षक टेल लाइट, फग लाइट, रिभर्स लाइट, क्लियरेन्स ल्याम्प लगायत दिइएको छ ।

यसको अगाडि हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर, इनर मिरर लगायत पाउन सकिन्छ । सुरक्षाका लागि भने यस मिनी कारमा लक ब्रेक सिस्टम, ब्रेक असिस्ट सिस्टम, इपिएस, रियर भ्यु क्यामेरा, चार्जिङ लिकेज प्रोटेक्सन, चाइल्ड लक, ओभर हिट प्रोटेक्सन, एन्टी कोलाजिन बफर लगायत फिचर्स उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार मिनी सिटी कार सामान्य घरायसी बिजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो कारको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई १५५० एमएमको रहेको छ । यसको ह्वील बेस २३०० एमएम रहेको छ भने बुट स्पेस १८५ लिटरको दिइएको छ ।

हाल यो ईभी खरिद गर्ने ग्राहकका लागि कम्पनीले बाहिरी पार्ट्स र मोटरमा केवल १ वर्षको वारेन्टी दिएको छ । ब्याट्रीमा भने ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।


Back_to_top