जर्मनीमा हाइड्रोजन सेलबाट सञ्चालन हुने प्रदूषणरहित रेलको सफल परीक्षण गरिएको छ । उत्तरी जर्मनीस्थित हमवर्गको रेल्वे स्टेशनमा कमर्शियल सर्भिस सुरु गरेको यस रेलको नाम ‘कोराडिया इलिन्ट’ राखिएको छ । फ्रान्सको कम्पनी अलस्टोमले दुई वर्षको मेहनतपश्चात् रेल सञ्चालनमा ल्याएको हो ।
जिरो इमिसन प्याट्रर्नमा चल्ने यो रेलले कार्बनडाइअक्साइड ग्यास उत्पादन नगर्ने कम्पनीको दाबी छ । इन्धनको रुपमा यसमा हाइड्रोजन फ्यूल सेल लगाइएको छ । जसले केमिकल रियाक्सनको मार्फत्बाट विद्युत् उत्पादन गर्ने गर्छ । यसबाट उत्पादीत बिजुलीले लिथियम आयान ब्याट्रीलाई चार्ज गर्छ । जसपश्चात् रेल चल्न सुरु गर्छ ।
अत्यन्त कम आवाज निकाल्ने यो रेल डिजेल रेलको गतिमा गुड्ने कम्पनीले जनाएको छ । यसको टपस्पीड क्षमता १ सय ४० किलोमिटर प्रतिघन्टा रहेको छ । यद्यपि, यसलाई चलाउन डिजेल रेलको जति नै खर्च लाग्ने कम्पनीले बताएको छ । कोराडिया आई–लिन्ट ट्रेन सिङगल हाइड्रोजनमा १ हजार किलोमिटरसम्म चल्ने गर्छ । रेलको विशेषतालाई नियाल्दै आगामी दिनमा प्रदूषणमुक्त रेल उत्पादन हुने आशा लिइएको छ ।

