काठमाडौं । लगातार चौथो बजेटमा ईभीको भन्सार र अन्तःशुल्कमा फेरवदल भएपछि नेपाली अटोमोवाइल क्षेत्र विशेषत इलेक्ट्रीक भेहिकलको बजार पुरै कन्फ्यूज भएको छ ।
सरकारले धेरै व्यक्तिको इच्छा र पहुँचमा भएको १०० किलोवाट मोटर क्षमतासम्मका ईभीमा १० प्रतिशत अन्तःशुल्क र ५ प्रतिशतले भन्सार वृद्धि गरेपछि लगभग २० प्रतिशत कर थप भएसँगै ईभीको मूल्य बढ्ने भएको छ ।
बजारमा सबैभन्दा कम मूल्यमा बिक्री हुँदै आएको टाटा टिगोर ईभीको एक्सइ भेरियन्टको मूल्य ३० लाखबाट बढेर ३५ लाख हाराहारी पुग्ने अनुमान सुरु भएको छ । इन्ट्री लेवल कारकै रुपमा बिक्री भइरहेको नेटाभीको मूल्य पनि ४२ लाख हाराहारी पर्ने देखिन्छ ।
बीवाइडीको एमथ्री र इ सिक्समा पनि करिब ८ लाख रुपैयाँ बढ्ने अनुमान गरिएको छ । आम नागरिकले खरिद गर्न चाहने सबै ईभीमा अत्याधिक मूल्य बढ्ने भएको हो ।
एउटा सेग्मेन्टमा अत्याधिक कर बढाएका अर्थमन्त्रीले १०० देखि २०० किलोवाट मोटर भएका ईभीमा भने कर घटाएका छन् । यसअघि ३०/३० प्रतिशत भन्सार र अन्तःशुल्क लाग्दै आएको ईभीमा १०/१० प्रतिशतले करका दर घटाएका हुन् ।
निकै लग्जरी सेग्मेन्टका ईभीमा आउने मोटर पावर २०० देखि ३०० किलोवाट रहेका कारमा पनि ५ प्रतिशत अन्तःशुल्क छुट दिएको छ ।
सरकारले जुसुकै पक्षलाई सोचेर नयाँ करका दर लागु गरेता पनि सरकारले करका दर फेरवदल गरेपछि ईभीमा जान चाहने वा पहिलो कारनै ईभी चलाउन चाहनेलाई नराम्रो धक्का लागेको छ ।
इन्ट्री लेवलमा हेनरी र विलिङ मात्र
अब नेपालमा ईभी चलाउन चाहनेले ठिकठाक बजेट भएका ग्राहकहरुले मिड साइजभन्दा पनि साना साइजका कारहरु मात्र छनोटमा पाउने छन् । नेपाली बजारमा २३ लाख ५० हजार मूल्य तोकेर बिक्री भइरहेको हेनरी र २५ देखि ३१ लाखमा बिक्री भइरहेको विलिङ ईभीमा कर बढेको छैन ।
बजारमा उपलब्ध विलिङ ४ सिटर कार हो भने, हेनरी ५ सिट भएको कार हो । १५० देखि ३०० किलोमिटर रेन्ज दिने दावी गरिएका यी दुई मोडलमा भने ५० किलोवाटभन्दा कम क्षमताका मोटर छन् ।
सबैको नजर सिट्रोन सीथ्री ईभीमा
भारतमा केहि समय अगाडि बिmक्री सुरु भएको सिट्रोन सिथ्री इलेक्ट्रीक झण्डै ४ मिटर लामो क्रसओभर मोडल हो । यसको पेट्रोल भेरियन्ट नेपालमा बिक्री सुरु भइसकेको छ ।
चाँडै नेपाल आउन लागेको सिट्रोन सीथ्री इलेक्ट्रीकमा ४२ किलोवाट क्षमताको मोटर छ । नयाँ कर अनुसार यसमा १० प्रतिशत भन्सार मात्र लाग्ने छ । यसमा अन्तःशुल्क लाग्ने छैन ।
भारतीय बजारमा ११ लाख ५० हजारदेखि १२ लाख ७६ हजारसम्म मूल्य रहेको यो कार नेपाली बजारमा २८ देखि ३५ लाख भित्र आउने अनुमान गरिएको छ । यदि यो मूल्यमा आउने हो भने क्रसओभर ईभीमा सबैभन्दा सस्तो बन्नेछ ।


