काठमाडौं । रोयल इनफिल्डको एसेम्बली नेपालमै सुरु भएको छ । कम्पनीले वार्षिक २० हजार यूनिट उत्पादन क्षमताको प्लान्ट संचालनमा ल्याएको हो ।
अल्फा अटोमोटिभ्सले विरगंजमा रोयल इनफिल्डको एसेम्वल प्लान्ट स्थापनागरी उत्पादन सुरु गरेको हो । कम्पनीले पहिलो लटमा नै एसेम्बल गरेको क्लासीक ३५० र स्क्रयाम ४११ नेपालमा बिक्री सुरु गरेको हो ।
कम्पनीको लगाएको प्लानमा हाल वार्षिक २० हजार यूनिट मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको छ । आवस्यकता अनुसार भविष्यमा यसलाई बिस्तार गर्दै वार्षिक १ लाख यूनिटसम्म उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।
घट्यो मूल्य
रोयल इनफिल्ड मूल्यको हिसावले निकै भाग्यमानी बन्यो । आगामी आर्थिक वर्षको बजेटले बजेटले २५० सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर ३० हजार रुपैयाँले घटायो । जसको कारण मोटरसाइकलको मूल्य सिधै ३० हजार कम भयो ।
यसका अलावा अल्फा अटोमोटिभ्सले बिक्री सुरु गरेको स्क्रयाम ४११ र क्लासीक ३५० नेपालमा नै एसेम्वल भएको मोटरसाइकल हुन् । यहाँ दिइएको छुट र घटेको अन्तःशुल्कको कारण कम्पनीले समग्रमा एउटै मोटरसाइकलमा १ लाख ४० हजार रुपैयाँले घटाएको हो ।

कम्पनीले नेपालमा उत्पादन सुरु गरेसँगै ग्राहकलाई केही राहत दिनेगरी मूल्य निर्धारण गरेको देखिन्छ । कम्पनीको नीति अनुसार नै मूल्य निर्धारण गरिएको बताउँदै अल्फा अटोमोटिभ्सका मेघराज पौडेलले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटले दिएको सहुलियत पाएसँगै रोयल इनफिल्डका पारखीहरुलाई कम मूल्यमा मोटरसाइकल उपलब्ध गराउने उद्देश्य पुरा भएको छ । राज्यले जुन छुट दिएको छ, त्यसमा हाम्रो राज्य प्रतिको कर्तव्य र ग्राहकप्रति उत्तरदाहित्व दुबै पुरा हुने हिसाबले मोटरसाइकलको मूल्य निर्धारण गरेका हौं ।’
नेपालमा दुई नयाँ मोडल सार्वजनिक गर्न आएका रोयल इनफिल्ड इन्डियाका सीसीओ (प्रमुख ब्यापार अधिकृत) यादवविन्द्र सिंह गुलेरियाले नेपालमा रहेका आफ्ना उत्पादनका पारखीसँगको सम्बन्ध अझै प्रगाढ बनाउँदै लाने बताए ।
उनले भने, ‘नेपाली बजारसँगको सम्बन्ध अझै अगाडि बढाउँदै एसेम्वल प्लान्ट स्थापन गर्न पाउनु मोटरसाइकल बजारको लागि एउटा ऐतिहासिक क्षण हो ।’

नयाँ मूल्यको चर्चा
रोयल इनफिल्डले गत शुक्रवारदेखि बिक्री सुरु गरेको नयाँ जेनेरेशन क्लासिक ३५० को मूल्य पहिलेको भन्दा १ लाख ४१ हजार रुपैयाँ सस्तो भएपछि यसको चर्चा चुलिएको छ ।
पुरानो मोडलको क्लासीक ३५० को पुरानो मोडल ६ लाख ४० हजार रुपैयाँमा बिक्री भइरहेको थियो । नयाँ भर्सन ३५० को मूल्य ४ लाख ९९ हजार तोकेर विक्री सुरु भएको हो ।

त्यस्तै कम्पनीले गत वर्ष भारतमा सार्वजनिक भएको स्क्रयाम ४११ समेत सार्वजनिक छ । १० लाख हाराहारीमा सार्वजनिक हुने अनुमान गरिएको स्क्रयाम ४११ कम्पनीले ६ लाख ६० हजारमा नै सार्वजनिक गरेर कम्पनीले अन्य ब्राण्डलाई कठिन चुनौती पेश गरेको हो ।


