काठमाडौं । कुनै सयम थियो नेपाल र भारत जस्ता देशमा बिक्री हुने १२५ सीसी क्षमताका मोटरसाइकलहरु कम्यूटका लागि मात्र हुन्थे । विभिन्न ब्राण्डले समयसँगै १२५ सीसी क्षमताका मोटरसाइकललाई ‘लाइफ स्टाईल प्रोडक्ट’का रुपमा ल्याउन थाले ।
विभिन्न कम्पनीलहरुले १२५ सीसी इन्जिन भएका स्पोर्टी मोटरसाइकलदेखि स्क्रयाम्वलर मोडलसम्म उत्पादन गर्दै आएका छन् । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसले १२५ सीसी सेग्मेन्टमा हल्का मोर्डन लुक्स दिएर ल्याएको रेडर १२५ ले अहिले सफलताको स्वाद चाखिरहेको छ ।
टीभीएसले परम्परागत डिजाइनबाट अलग भएर कम्यूटर मोटरसाइकल सेग्मेन्टमा रेडर १२५ मोटरसाइकल बजारमा ल्याएको थियो । त्यही रेडर १२५ मोटरसाइकल अहिले टीभीएसको वेस्ट सेलिङ मोडल बन्दै आएको छ ।
नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमा नै रेडर १२५ ले राम्रो बजार पाइरहेको छ । बजाजको सर्वाधिक सफल मोडल पल्सर १५० र टीभीएस रेडर १२५ बीच रहेका फरक यहाँ केलाउने प्रयास गरेका छौं ।
लुक्स
टीभीएस रेडर १२५ मोर्डन नेकेड डिजाइनमा तयार भएको मोटरसाइकल हो । अग्रसिभ फ्रन्ट प्यानल, स्टाइलिस हेडल्याम्पको साथमा दिइएको एलइडी डेटाइम रनिङ लाइट, मस्कुलर फ्यूल ट्याङ्क भएको कारण झट्ट हेर्दा निकै लोभलाग्दो देखिन्छ ।
बजाज पल्सर दुई दशकदेखि बिक्री हुँदै आएको एकदमै सफल मोटरसाइकल हो । १५० सीसी क्षमताको यो मोटरसाइकल एकै डिजाइनमा दुई दशकसम्म सफल मोडल मान्न सकिन्छ । परम्परागत क्लासिक स्पोर्टी डिजाइन यसको सबल पक्ष हो ।
इन्जिन
यी दुई मोटरसाइकल फरक इन्जिन क्षमताका मोटरसाइकल हुन् । बजाज पल्सर १५० सीसी सेग्मेन्टको मोटरसाइकल हो । रेडर भने १२५ सीसी सेग्मेन्टमा उपलब्ध छ ।
बजाज पल्सर १५० मा भएकोे १४९ सीसी ४ स्ट्रोक,२ भल्भ, एयर कुल्ड इन्जिनले ८००० आरपीएममा १४ पीएस पावर तथा ६००० आरपीएममा १३.४ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै रेडरमा भएको १२४.८ सीसी क्षमताको ४ स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिनले ८००० आरपीएममा १२.९ पीएस पावर तथा ६५०० आरपीएममा ११.५ एनएम टर्क जेनेरेट गर्छ ।
यी दुबै मोटरसाइकलमा समान ५ स्पीडको गियबक्स जडान गरिएको छ । इन्जिन क्षमताको आधारमा पावर फरक परेको देखिन्छ ।
सस्पेन्सन
यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन दिइएको छ । बजाजले पल्सरको रियरमा ट्वीन सस्पेन्सन दिएको छ भने, टीभीएसले रेडरमा मोनोशक सस्पेन्सन दिएको छ ।
ब्रेकिङमा दुबैको अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक छ । बजाजले पल्सरमा २६० एमएमको डिस्क र टीभीएसले रेडरमा २४० एमएमको डिस्क दिएको छ ।
फिचर
फिचरको कुरा गर्दा बजाज पल्सरकोे तुलनामा रेडर अगाडि देखिन्छ । नयाँ मोडल भएको कारण यसलाई आधुनिक फिचर जोड्न मिल्ने बनाइएको छ ।
बजाजले पल्सर १५० मा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको कारण धेरै फिचर सपोर्ट गर्दैन । जुन रेडरमा फुल डिजिटल एलसीडी डिस्प्ले दिएको हुँदा सपोर्ट गर्छ ।
रेडरमा गियर इन्डिकेटर, लो ब्याट्री इन्डिकेटर, सर्भिस इन्डिकेटर, टप स्पीड रेकर्डर, ल्याप टाइमर, ट्रीप मिटर काउन्ट, क्लक, यूएबी चार्जर, लो फ्यूल इन्डिकेटर जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।
मूल्य
जगदम्वा मोटर्सले बिक्री गर्ने रेडरको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री गर्ने पल्सर १५० को मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ ।


