काठमाडौं । बजाज पल्सर एनएस २०० यूवा वर्गको रोजाइमा पर्ने नेकेड स्ट्रीट फाइटर डिजाइनको मोटरसाइकल हो । लामो समयदेखि नेपाली बजारमा विक्री भइरहेको यो मोटरसाइकल विभिन्न समयमा विभिन्न अपडेट हुँदै आएको छ ।
पछिल्लो पटक कम्पनीले एनएसको प्रिमियम भर्सन नेपाल भित्र्याएको छ ।
बजाज अटोको नेपालका लागि आधिकाकिर विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले एनएस २०० मा विभिन्न अपडेटसहित अपसाइड डाउन फर्क थप गरेर ल्याएको हो ।
कम्पनीले नयाँ भर्सन केही दिनभित्र नै विक्री सुरु गर्ने तयारी गरेको छ । योसँगै पल्सर एनएस २००को ४ भेरियन्टमा ग्राहकले छनोट गरेर खरिद गर्न सक्ने भएका छन् ।
कम्पनीले ३ लाख ३५ हजार ९०० रुपैयाँदेखि ४ लाख २४ हजार ९०० रुपैयाँसम्मको एनएस २०० उपलब्ध गराएको हो ।
बजाजले नेपालमा उपलब्ध गराएको सबैभन्दा कम मूल्यको एनएस २०० को बीएस ६ भर्सन रहेको छ । यो मोटरसाइकल एनएस २०० को पहिलो जेनेरेशनको रुपमा नेपालमा विक्री हुँदै आएको छ ।
त्यस्तै, एनएस २०० कै एबीएस भर्सन रहेको छ । कम्पनीले बीएस ४ इन्जिन भएको मोटरसाइकललाई नै एबीएससहित विक्री गर्दै आएको छ । एबीएससहितको पल्सर एनएस २०० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । त्यसैगरि, बीएस ४ इन्जिनमा नै एफआई, एबीएस जस्ता फिचर थप गरेको एनएस २०० को मूल्य ४ लाख १ हजार ९०० रुपैयाँ रहेको छ ।
यसका साथै कम्पनीले बीएस ६ इन्जिनमा दुई भेरियन्ट उपलब्ध गराएको हो । कम्पनीले बीएस ६ इन्जिन भएको २०२२ मोडल ४ लाख १३ हजारमा विक्री गर्दै आएको छ । विभिन्न फिचर थप भएर आएको बीएस ६ एनएस २०२३ मोडलको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरिएको छ ।
यी पाँचै मोडलका एनएसमाको डिजाइन समान रहेको छ । इन्जिन समेत समान सीसीको छ भने २०२३ मोडलको इन्जिनले केही ज्यादा पावर जेनेरेट गर्छ ।
२०२३ पल्सर एनएस २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.५ पीएस पावर तथा १८.७४ एनएम टर्क जेनेरेट गर्छ ।
रेगुलर मोडल एनएसले २३.५ पीएस पवार तथा १८.३ एनएम टर्क जेनेरेछ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
२०२३ पल्सर एनएस २०० मा नयाँ फिचरको रूपमा अपसाइड डाउन फर्क पाउने छन । नयाँ एनएसमा ३३ एमएमको यूएसडी फर्क पाउन सकिन्छ । त्यस्तै, कम्पनीले यसको ब्रेक क्यालिपरसमेत परिर्वतन गरेको छ । नयाँ एनएसमा ग्रिमिकाको क्यालिपर प्रयोग गरिएको छ ।
यसका अलावा नयाँ एनएस २०० मा नयाँ अलोय ह्वील, डबल च्यानल एबीएस, गियर पोजिशन इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै, यसमा रहेको सेमी डिजिटल कन्सोलमा डिस्ट्यान्स टू इम्पिटी, फ्यूल इकोनोमी, एभरेज फ्यूल इकोनोमी जस्ता थप फिचर उपलब्ध छन् ।
नयाँ एनएस २०० को तौल पुरानो मोडलको तुलनामा १.५ केजीले कम रहेको छ । यसले मोटरसाइकलको पावर टू वेट रेसियोलाई कम गरेर मोटरसाइककाले पावर आउटपुटमा सुधार ल्याएको छ ।


