काठमाडौं । ईभीको बिक्री विश्वभर तिब्रगतिमा बढिरहेको छ । टेस्लाका सीईओ इलन मस्कले मूल्य कटौती गरेसँगै विश्वभर ईभीको मूल्य कटौती सुरु भएको हो । यो प्राइस वारमा उपभोक्ताले भने निकै राहत महसुस गरेका छन् ।
विश्वभर सन् २०२३ को पहिलो क्वाटरमा ३२ प्रतिशतले ईभीको बिक्रीमा वृद्धि आएको थियो । यस अवधिमा चीनले २९ प्रतिशतले ईभीको बिक्री बढाएर पहिलो स्थानमा आफुलाई राख्दा जर्मनीलाई उछिन्दै अमेरिका दोस्रो स्थानमा उक्लेको छ । अमेरिकामा ईभीको बिक्री ७९ प्रतिशतले वृद्धि भएको हो ।
ग्लोवल प्यासेन्जर इलेक्ट्रीक मोडल सेल्स ट्रयाकरले प्रकाशित गरेको रिपोर्टमा अहिले विश्वभर बिक्री हुने ७ कारमा एउटा इलेक्ट्रीक हुन थालेको छ । अहिले पनि धेरै कार बिक्री हुने जापान, भारत, दक्षिण कोरिया, ब्राजिल जस्ता देशमा ईभीको बिक्री अत्यन्त न्यून रहेको छ ।
टेस्लाले जनवरी २०२३ मा विश्वभर आफ्नो कारको मूल्य घटाउने घोषणा गरेसँगै बीवाइडी, एनआईओ, एक्सपिङ, फक्सवागेन, बीएमडब्लू, मर्सिडिज बेन्ज, निसान, टोयोटा र होन्डाले आफ्नो विद्युतीय कारको मूल्य कटौती गरे । ५ हजार डलरसम्मले मूल्य कटौतीपछि ईभी बजारमा उल्लास छाएको हो ।

त्यसैको परिणाम अनुसार विश्वभर विगत ६ महिनामा बीवाइडीले १२ लाख ५५ हजार ६३७ यूनिट न्यू इनर्जी भेहिकल (पूर्ण विद्युतीय र प्लगइन हाइब्रिड) कार बिक्री गरेको छ । प्रिमियम र लग्जरीमा मानक बनेको टेस्लाले पनि ६ महिनामा ९ लाख २० हजार ५०८ यूनिट पूर्ण विद्युतीय कार बिक्री गरेको हो ।
यी दुई ब्राण्डका अलावा फक्सवागेन, जिली, जनरल मोटर्स, बीएमडब्लू, मर्सिडिज, हुन्डाई र रेनोले पनि आफ्नो बिक्री बढाउन सफल भएका छन् ।
चिनियाँ स्टार्टअप कम्पनीदेखि अमेरिकी फोर्ड मोटर्ससम्मले चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशतको ग्रोथ पाएका छन् ।


