काठमाडौं । बजाज अटोले बजाज–ट्राइम्फ सहकार्यमा उत्पादन भएको पहिलो मोटरसाइकल स्पीड १० हजार यूनिट बुकिङ भएको छ । बुकिङ खुलेको १० दिनमा नै ट्राइम्प ४०० स्पीड १० हजार बुकिङ भएको हो ।
कम्पनीले गत हप्ता सार्वजनिक गरेको स्पीड ४०० को सुरुवाती मूल्य २ लाख २३ हजार तोकेर बुकिङ खुल्ला गरेको थियो ।
कम्पनीले पहिलो १० हजार ग्राहकका लागि यो मूल्य तोकेको थियो भने अव यसको मूल्य १० हजार रुपैयाँले बढ्ने जनाएको छ ।
कम्पनीले ट्राइम्फ स्क्रयाम्वलर ४०० को मूल्य भने सार्वजनिक गरेको छैन । ट्राइम्फ स्क्रयाम्वलर ४०० अक्टोवरमा सोरुम आइपुग्नेछ ।
कम्पनीले दुवै मोडलमा एउटै ३९८ सीसी क्षमताको डीओटीएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७.५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।
कम्पनीले दुबै मोटरसाइकलमा समान फिचरहरू दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड बाइ वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडी पाउन सकिन्छ ।
त्यसैगरी, यी मोटरसाइकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी स्क्रीन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पूरै एलईडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर छन् ।
स्पीड ४०० मा बार इन्ड मिरर, सिंगल टिप एगजस्ट र सिंगल सीट दिइएको छ भने स्क्रयाम ४०० मा ग्रील टेलर हेन्डलबार, नक्कल गार्ड, स्क्रयाम्बल स्टाइल डिजाइनमा ट्वीन टीप एग्जस्ट र स्प्लीट सीट रहेको छ ।

