काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च रहेको र चिनियाँ कम्पनीहरुले ‘प्राइस वार’ गरिरहेको भन्दै चीनको उद्योग मन्त्रालयले कम्पनीहरुलाई सचेत गराएको छ ।
दुई दिनअघि जुलाई ६ मा संघाईमा भएको ‘चाइना अटो फोरम २०२३’मा भाग लिएका मिनीस्ट्री अफ इन्ड्रष्टी एण्ड इन्फर्मेसन टेक्नलोजीका अधिकारीहरुले तत्काल प्राइस वार बन्द गर्न भनेका हुन् ।
अहिले चीनमा कारको मूल्य घटाउने प्रतिस्पर्धा नै चलिरहेको भन्दै मन्त्रालयका अधिकारीहरुले मुख्य निर्माताहरुलाई सजग गराएका हुन् ।
सन् २०२३ को सुरुवाती ६ महिनामै ३० ब्राण्डका १०० भन्दा बढि मोडलको मूल्य घटेको थियो । त्यसपछि यसमा चीन सरकारले नै हस्तक्षेप गरेको हो ।
चाइना अटो फोरम २०२३ कार्यक्रममा मिनी स्ट्री अफ इन्ड्रष्टी एण्ड इन्फर्मेसन टेक्नलोजी र १६ प्रमुख अटो उत्पादकले आकर्षक र फेयर मूल्य सँगसँगै लाने सम्बन्धी एक प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त पत्रमा हस्ताक्षर गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै न्यू इनर्जी भेहिकल उत्पादन गर्ने चिनियाँ ब्राण्ड बीवाइडी, अमेरिकी कम्पनी टेस्ला, अन्य चिनियाँ ब्राण्ड नियो लाईअटो, एक्सपेङ, टेस्ला, एसएआइसी, जीली, एनआईओ, ग्रेटवाल जस्ता कम्पनीहरु रहेका छन् ।
चीन सरकारको यो निर्णयले ग्राहकहरुको कम मूल्यमा विद्युतीय कार चढ्न पाउने अधिकार माथि अंकुश लागेको पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।

