काठमाडौं । एमजीले भारतमा उत्पादन गरेको सिटी कार कोमेटले सान्दार बिक्री सुरुवात गरेको छ । कम्पनीले बिक्री सुरु गरेको पहिलो महिनामा नै १ हजार १८४ यूनिट कोमेट ईभी बिक्री गर्दै ग्राहकको ध्यान खिच्न सफल भएको हो ।
अहिले भारतमा सबैभन्दा धेरै बिक्री गर्ने ईभी टाटा नेक्सन हो । नेक्सनपछि आफुलाई दोस्रो स्थानमा उभ्याउन सफल कोमेट ईभी मूल्य र फिचरको कारण सफलताको बाटोमा अगाडि बढेको मान्न सकिन्छ ।
एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । निकै सानो मोटर रहेको कोमेटमा ४२ हर्सपावरको मोटर र ११० न्यूटन मिटर टर्क पाउन सकिन्छ । यो कारको रेन्ज एक पटकको फुल चार्जमा २३० किलोमिटर सम्म हुने कम्पनीको दावी रहेको छ । अटोकार इन्डियाको रेन्ज टेष्टमा यसले १९० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
एमजी कोमेटलाई ३.३ किलोवाटको चार्जरले ५ घण्टामा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । फुल चार्ज गर्न भने ७ घण्टा लाग्ने बताइएको छ ।
यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारित रहेर निर्माण गरिएको हो । विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने ग्राहकका लागि केन्द्रीत रहेर एमजीले उत्पादन गरेको हो ।
यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।

यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।
कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराएको छ ।
यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत छन् ।
यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ ।
एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले चाँडै नेपाल ल्याउन सक्ने सम्भावित मोडलमा कोमेटलाई लिन सकिन्छ । यद्यपि, कम्पनीले यसको आधिकारीक धारणा भने सार्वजनिक भने गरेको छैन ।


