‘नाडा अटो शो’मा अधिकांश ठूला कम्पनीले भाग लिने

फाइल तस्बिर

काठमाडौं । संख्यात्मक रुपमा धेरै गाडी बिक्री गर्ने कम्पनीहरुले ‘नाडा अटो शो २०२३’मा भाग लिने भएका छन् । नाडाले गत शुक्रबारबाट स्टल बुकिङ खुल्ला गरेकोमा अधिकांश ठूला कम्पनीले भाग लिने भएका हुन् ।

यसवर्ष भदौ २६ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने अटो शोमा करिब ५ दर्जन कम्पनीले सहभागिता जनाउने भएका छन् । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अनुसार ५३ कम्पनीले बुकिङ गरिसकेका छन् । बैंक, इन्स्योरेन्स र अन्य केही कम्पनीले थप केहि दिनको समय मागेका छन् ।

कोभिड १९ संक्रमण फैलिए र सन् २०२० बाट हुन नसकेको नाडा अटो शो तीन वर्षपछि हुन लागेको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो दशैं अगाडि सवारीसाधन बिक्री गर्ने माहोल बनाउन र नयाँ नयाँ मोडल देखाउने थलो बन्दै आएको छ ।

यस वर्षको अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ कारहरु थोरै मोडल आउने अनुमान गरिएको छ । तर, विद्युतीय कारका झण्डै एक दर्जन नयाँ मोडल सार्वजनिक हुनेछन् ।

नाडा अटो शो २०२३ मा हुन्डाई, टाटा, सुजुकीले नयाँ पेट्रोलियम पदार्थबाट चल्ने कार प्रदर्शनी गर्ने अनुमान गरिएको छ ।

विद्युतीय कारतर्फ बीवाइडी, एमजी, चेरी, टाटा, महिन्द्रा, किया, सेरेस लगायतका ब्राण्डले नयाँ मोडल ल्याउने छन् ।

मोटरसाइकल तथा स्कुटरमा बजाज, टीभीएस लगायतका ब्राण्डले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top