२५ वर्ष अगाडि ईभीको खोज गर्ने टोयोटाको नयाँ दाउ

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटा नयाँ टेक्नलोजीको विकास र विस्तारमा अग्रणी कम्पनी हो । प्योर ईभी टेक्नोलोजी विकास धेरै वर्ष पहिला गरेपनि बढ्दो ईभी बजारमा उ निकै सुस्त देखिन्छ ।

विश्व अटोमोवाइल नै ब्याट्री इलेक्ट्रीक भेहिकलमा तिब्र गतिमा अगाडि बढ्दा टोयोटा भने हाइब्रिड टेक्नलोजीलाई नै सुधार्न लागि परेको छ ।

टेस्ला, बीवाइडी, फक्सवागेन लगायत थुप्रै चिनियाँ ब्राण्ड बीइभी टेक्नोलोजी विकासमा अग्रमोर्चामा देखिदा २५ वर्षअघि इलेक्ट्रीक पावर र ब्याट्री टेक्नोलोजीमा काम गरेको टोयोटा सुतेर बसेको भान हुन्छ ।

ईभीमा टोयोटाको अवश्था

सन् २०२२ मा टोयोटाले विश्व बजारमा २२ हजार ३०० यूनिट इलेक्ट्रीक साधन डेलिभरी दिएको थियो । विद्युतीय कारको बिक्रीलाई आधार मान्दा टोयोटा २९ औं स्थानमा परेको छ ।

अहिले करिब एक दर्जन चिनियाँ ब्राण्डसँगै टोयोटाभन्दा निकै साना उत्पादक रेनो, बीएमडब्लू, फोर्ड, मर्सिडिज जस्ता ब्राण्डको बिक्री संख्या निकै राम्रो छ । जबकी टोयोटाले सन् २०२२ मा कुल १ करोड ४८ लाख यूनिट सवारीसाधन बिक्री गरेको थियो । कम्पनीको कुल बजारमा ईभीको हिस्सा केबल ०.२ प्रतिशत मात्रै छ ।

टोयोटाको ईभी सीएचआर, बीजेडफोरएक्स र लेक्सस यूएक्स जस्ता एसयूभी र प्रोएस नामको कमर्शियल भ्यान मात्र छ । जबकी चीनको सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीसँग भ्यानहरु बाहेकै १३ वटा ईभी मोडल छन् ।

त्यस्तै, बीएमडब्लू ग्रुपसँग ८ वटा ईभी मोडल, स्टलान्टीस ग्रुपसँग ९ वटा प्यासेन्जर कार र १५ मोडलका ईभी भ्यान छन् ।

२५ वर्षे ईभी यात्रा

टोयोटाले सन् १९९७ को डिसेम्बरमा पहिलो पटक लन्च गर्दा टोयोटा प्रियस विश्वको पहिलो मास–प्रोडक्सन हाइब्रिड कार रहेको थियो । सन् २०२२ को सेप्टेम्बरसम्ममा ५० लाखभन्दा धेरै प्रियस बिक्री भइसकेको छ ।

कम्पनीले प्रियसको चौथो जेनेरेशन मोडल अहिले बिक्री गर्दै आएको छ । अहिले धेरै गाडी उत्पादक प्रदुषण घटाउन ईभीमा लागेका हुन् । तर, विगतका वर्षदेखि नै टोयोटाले आफ्नो फिटको ‘एभरेज इमिसन’ कम गर्न सफल हुँदै आएको छ ।

टोयोटासँग अहिलेका टप ब्याट्री इलेक्ट्रीक भेहिकल कम्पनीको भन्दा इलेक्ट्रीक पावर ट्रेन र ब्याट्री टेक्नोलोजीमा बढी अनुभव छ ।

टोयोटासँग के अपेक्षा गर्ने ?

टोयोटा विश्व अटोमोवाइल बजारको सबैभन्दा ठूलो ज्ञाता हो भन्दा फरक पर्दैन । टोयोटासँग भएको फराकिलो प्रोडक्ट रेन्जका कारण विश्वको सबै देशमा राम्रो बजार पाइरहेको छ ।

अफ्रिका, मिडिल इस्ट, जापान, साउथइस्ट एशिया र आसियान देशहरुमा टोयोटा ग्राहकहरुको पहिलो रोजाईको ब्राण्ड हो । अमेरिकामा टोयोटा नन्अमेरिकी ब्राण्ड मध्य सर्वस्विकार्य ब्राण्ड हो । चाइनामा टोयोटा दोस्रो सबैभन्दा पपुलर ब्राण्ड हो भने ल्याटिन अमेरिकामा तेस्रो तथा यूरोपमा पाँचौ मनपराइएको ब्राण्ड हो ।

यति चर्चित र सफल भएरपनि गत वर्षको लगानीकर्ता सम्मेलनमा टायोटाले ईभी मोडल लन्च नगरेकोमा धेरै दबाव झेल्नु परेको थियो । लगानीकर्ताको विरोधपछि लगत्तै जुन महिनामा कम्पनीले आफ्नो इलेक्ट्रीक प्लान सार्वजनिक गरेको थियो ।

कम्पनीले अहिलेको लिथियम आयोन ब्याट्रीमा व्यापक सुधार गरिरहेको र सन् २०२६ मा लन्च हुने आफ्नो ईभीहरुको रेन्ज १००० किलोमिटर माथि हुने जनाएको थियो ।

टोयोटाले सन् २०२६ सम्ममा ईभीको बिक्री वार्षिक १५ लाख यूनिट पुग्ने अनुमान गरेको छ । त्यस्तै, नयाँ प्रविधिको ब्याट्री टेक्नोलोजी विकास गरिरहेको समेत जानकारी दिएको छ । त्यसको प्रयोग पनि चाँडै सुरु हुने कम्पनीको भनाई छ ।

सन् २०२८ बाट प्रयोगमा ल्याउन सकिने सोलिड स्टेट ब्याट्री परिक्षण पुरा भएको टोयोटाले केही दिनअघि मात्रै जानकारी दिएको थियो । यो टेक्नोलोजीको ब्याट्रीले एक पटकको चार्जमा १५०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । नयाँ ब्याट्री टेक्नोलोजीको प्रयोग भएका गाडी बजारमा आउँदा टोयोटा प्योर ईभीमा पनि नम्बर १ ब्राण्ड बन्नेमा कुनै शंका छैन ।


Back_to_top