कमर्शियल गाडीको बिक्री निरासाजनक, पाँच ब्राण्डको बजार हिस्सा

काठमाडौं । सवारीसाधनको बिक्रीमा उच्च गिरावट जारी छ । जुलाई महिनामा नेपाली बजारमा कमर्शियल गाडीको बिक्री केबल २४६ यूनिट भएको छ । एक महिनाको अवधिमा एउटा पनि एलसीभी बस र एससीभी प्यासेन्जर गाडी बिक्री भएको छैन ।

टाटा विगर एक यूनिट बिक्री हुँदा ८.५ टनसम्मको लोड बोक्न सक्ने एलसीभीको बिक्री केबल ७ यूनिट बिक्री भएको छ । बजारमा कमर्शियल गाडी बिक्री गर्ने टाटाले ६०.५ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले १४९ यूनिट कमर्शियल गाडी बिक्री गरेको हो ।

टाटालाई पच्छाई रहेको अशोक लेलैण्डले एक महिनामा ४० यूनिट गाडी बिक्री गरेको छ । कम्पनीले बिक्री गरेको गाडीमा सबैभन्दा धेरै १७ यूनिट रुटमा चल्ने बस छन् । त्यस्तै स्कुल बस पनि ९ यूनिट छ । कम्पनीको बजार हिस्सा १६.२६ प्रतिशत रहेको छ ।

तेस्रो स्थानमा एसएमल इसुजु रहेको छ । एसएमल इसुजुका स्कुल बसहरु राम्रो संख्यामा बिक्री भएका छन् । कम्पनीले २५ यूनिट स्कुल बस बिक्री गरेको छ । कुल ३५ यूनिट गाडी बिक्री गरेको कम्पनीले अन्य एलसीभी १० यूनिट बिक्री गरेको देखिन्छ । कम्पनीको बजार हिस्सा १४.२२ प्रतिशत रहेको छ ।

बिक्रीको आधारमा आइसर १२ यूनिटसहित चौथो स्थानमा रहँदा १० यूनिट गाडी बिक्री गरेको महिन्द्रा पाँचौ स्थानमा छ ।

कोभिड १९ संक्रमणपछि क्रमिक रुपमा घट्दै गएको कमर्शियल गाडीको बिक्री आर्थिक मन्दीपछि झनै कमजोर बन्दै गएको बिक्री तथ्यांकले देखाएको छ ।


Back_to_top