काठमाडौं । डच कार कम्पनी लाइट एयरले २०२२ डिसेम्बरमा विश्वभरका मिडियामा समाचारको हेडलाइन बन्ने अबसर पायो । कम्पनीले ‘न्यू इनर्जी भेहिकल’को क्षेत्रमा ‘अल सोलार इलेक्ट्रीक कार’ उत्पादन गरेर चर्चा कमाएको हो ।
सन् २०१३, २०१५ र २०१७ को ‘ब्रिजस्टोन वर्ल्ड सोलार च्यालेन्ज’ जितेको लाइट एयरले आफ्नो पहिलो ‘अल सोलार इलेक्ट्रीक कार’को रुपमा ‘लाइट एयर जीरो’ प्रस्तुत गरेको थियो ।
सन् २०२१ बाटै उत्पादन सुरु हुने भनिएको यो कार कोभिड १८ को महामारीका कारण गाडी बजारमा आउन सकेन । उल्टै कम्पनीनै झन्डै बैंकरप्सीमा पुगेको थियो । सन् २०२२ को डिसेम्बरमा पहिलो कार डेलिभरी गरेको लाइट एयर जीरोको मूल्य २ लाख ९६ हजार डलर तोकिएको थियो । हप्ता एक यूनिट मात्रै उत्पादन भएको कार २०२३ को जनवरीबाटै उत्पादन बन्द भएको थियो ।
लाइट एयर जीरोको बोनेट, रुफ तथा बुट गरी ५ स्क्वायर मिटरको सरफेसमा सोलार सेल रहेको थियो । यसले कारको डब्लुएलपीटी रेन्ज ६२५ किलोमिटर हुने दावी गरिएको थियो । कम्पनीका अनुसार कारमा रहेको ७८२ वटा सोलार सेलले प्रतिदिन ७० किलोमिटरको रेन्ज थप्ने थियो ।

अब लाइट एयर–२
यसै वर्षको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रीक शो २०२३ मा कन्सेप्ट डिजाइन सार्वजनिक गरेको लाइट एयर २ एक मास मार्केट भेहिकल हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बुकिङ खुल्ला गरेको पहिलो हप्तामै २१ हजार यूनिट कार प्रि–बुकिङ गरिएको छ । सोलार इलेक्ट्रीक हाइब्रिड भनिएता पनि परम्परागत हाइब्रिड कारमा जस्तो आइसीई इन्जिन हुने छैन ।

कम्पनीका अनुसार कारले सिंगल चार्जमा ८०० किलोमिटरसम्म रेन्ज दिने छ । यदि दैनिक ६०/७० किलोमिटर मात्रै यात्रा गर्ने हो भने यो कारलाई चार्ज नै गर्नु पर्ने छैन । कम्पनीका अनुसार यो कार रेगुलर ईभीभन्दा ३ गुना कम मात्र रिचार्ज गरे हुन्छ ।
लाइट एयर जीरोको सम्पूर्ण प्रविधिहरु रहने यो कारको अनुमानित मूल्य ४० हजार डलर हुने जनाइएको छ । यसको उत्पादन भने सन् २०२५ को सुरुवातबाट मात्रै हुनेछ ।


