नेपाल-चाइना बोर्डरमा देखियो एमजी-४

काठमाडौं । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको एमजी-४ केरुङ बोर्डरमा देखिएको छ । कम्पनीले चाँडै नेपालमा बुकिङ खुल्ला गर्न लागेको एमजी-४ बोर्डरमा देखिएको हो ।

आगामी सातासम्ममा यसको मूल्य सार्वजनिक गर्ने तयारी पारामाउन्ट मोटर्सले गरिरहेको छ । कम्पनीले यसअघि जेडएस ईभी मात्रै बिक्री गर्दै आएकोमा दोस्रो मोडलको रुपमा एमजी-४ नेपाल ल्याएको हो ।

यूरोपियन बजारमा उत्कृष्ट ब्यापार गरिरहेको एमजी-४ एक प्रिमिमय क्रसओभर मोडल हो । आधुनिक फिचर लोडेड र निकै सुरक्षा फिचरले सु-सज्जीत यो मोडलको मूल्य आउन भने केही समय लाग्ने कम्पनी स्रोतले जानकारी दियो ।

‘हामी गाडी देखाएर बुकिङ लिने तयारीमा छौं । ग्राहकले मनपराएपछि बुकिङ गर्न सक्नेछन् । तर, मूल्य घोषणा भने नाडा अटो शोमा मात्रै हुनसक्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

यस्तो छ एमजी-४

एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी-४ इलेक्ट्रीक क्रसओभर मोडल हो । यसलाई एमजीले ठिक एक वर्षअघि सन् २०२२ को जुलाइमा अनावरण भएको थियो ।

एमजी-४ इलेक्ट्रीक मोडलमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवर गरी दुई ब्याट्री प्याक रहने छ । सुरुमा यी दुबै ब्याट्री अप्सन नेपालमा पनि पाइने अनुमान गर्न सकिन्छ ।

कम्पनीका अनुसार यसमा रहेको सानो ब्याट्री प्याक भेरियन्टले ३५० किलोमिटर र ठूलो ब्याट्री भएकोले ४५२ किलोमिटर रेन्ज प्रदान गर्छ । यस कारको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

एमजीले यो कारलाई ९९ किलोवाट आवरको ब्याट्री प्याकमा ल्याउने छ । यसको टर्क भने २५० एनएम हुनेछ । एमजी-४ ईभीले १५० किलोवाटसम्मको डिसी चार्ज सपोर्ट गर्नेछ ।

स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल–विंग स्पोइलर र फुल–वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

एमजीले यो क्रसओभरमा धेरै स्पेश निकाल्न र आरामदायी बनाउन २७०५ एमएम लामो ह्वीलबेस दिएको छ । यसको लम्बाई ४.२ मिटरभन्दा केही बढी छ । कम्पनीले यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेट दिएको छ ।

यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।


Back_to_top