काठमाडौं । विद्युतीय कारको माग बढेसँगै बजारमा नयाँ नयाँ प्रतिस्पर्धी थपिने क्रम जारी छ । यहि क्रममा सेरेस ब्राण्डको नयाँ इलेक्ट्रीक एसयूभी सेरेस-३ नेपाल आउँदै छ ।
एमएडब्लू वृद्धिले आधिकारीक बितरक भएर ल्याइरहेको सेरेस ब्राण्डको ईभी आगामी सातासम्म नेपाल प्रबेश गर्ने भएको छ । नेपाल आएपनि यसको आधिकारीक लन्चिङ भने भदौ २६ गते गर्ने तयारी कम्पनीले गरिरहेको छ ।
आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ आयोजना हुँदैछ । त्यहि अटो शो मार्फत सेरेस ब्राण्ड नेपालमा प्रबेश गर्न लागेको हो ।
‘नेपालको लागि आउने सुरुको लट गाडी हिडिसकेको छ । अबको केहि दिनमा नै काठमाडौं आइपुग्ने छ । तर, नजिकै नाडा अटो शो पनि आयोजना हुन लागेको कारण यसको आधिकारी लन्चिङ अटो शोमा नै गर्ने योजना बनाएका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
सेरेसले ल्याउन लागेको नयाँ ईभीको सिधा प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको एड्भान्स भेरियन्टसँग हुनेछ । सेरेस-३ इलेक्ट्रीक एसयूभी ५०.७ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । ९९ किलोवाटको मोटरमा आउने यो ईभी डिएफएसके ग्लोरी ५६० मा आधारित मोडल हो ।

कम्पनीले यसलाई दुई भेरियन्टमा नेपाल ल्याउने भएको छ । भेरियन्टको नाम अहिल्यै जानकारी प्राप्त नभएपनि स्टायडर्ड भेरियन्टमा पानारोमिक शनरुफ र ३६० डिग्री क्यामेरा हुनेछैन । त्यो बाहेक अन्य फिचर समान रहने छ ।
सेरेस-३को टप भेरियन्टमा शनरुफ, ३६० डिग्री क्यामेरा सहित एडास फिचर रहने अनुमान गरिएको छ । यसको मूल्यको विषयमा कम्पनीले जानकारी दिएको छैन । यद्यपि, प्रतिस्पर्धीको हाराहारीमै यसको मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।

