४ नयाँ इलेक्ट्रीक मोडल ल्याउँदै टाटा, हाइड्रोजनमा पनि काम हुँदै

काठमाडौं । टाटा मोटर्स ‘न्यू इनर्जी भेहिकल’ उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल र हाइड्रोजन फ्यूलसेल टेक्नोलोजीमा ठूलो धनरासी लगानी गरिरहेको छ ।

कम्पनीले सन् २०२४ मा ४ वटा नयाँ इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने योजना बनाएको छ । यसको मतलव टाटाले प्रत्येक क्वाटरमा एउटा न्यू इनर्जी भेहिकल वजारमा ल्याउने छ ।

हिजो साउन २३ गते मंगलबार कम्पनीको ७८औ वार्षिक साधारण सभामा कम्पनीका शेयर होल्डरलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष नटराजन चन्द्रशेखरनले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार टाटा मोटर्सले पन्च र कर्भ ईभी लगभग तयार गरेको छ । साथै, टाटा मोटर्सको स्वामित्वमा रहेको बेलायती ब्राण्ड जागुवार ल्याण्ड रोभर ब्राण्डको रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट्सको इलेक्ट्रीक भर्सनको बुकिङ आगामी वर्षको अन्त्यसम्ममा सुरु हुनेछ ।

टाटा मोटर्सले भारतमा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभीको सहायताले ईभीको बजार हिस्सामा ८० प्रतिशत आफुसँग राख्न सफल भएको छ । कम्पनीले यसअघि नै सन् २०३० सम्ममा टाटा ब्राण्डमा प्यासेन्जर कारमा ईभीको हिस्सा ५० प्रतिशत र ज्यागुअर ल्याण्ड रोभरमा ६३ प्रतिशत नयाँ कार ग्रिन टेक्नलोजीमा आधारित रहने घोषणा गरेको थियो ।

टाटा मोटर्सले कमिन्ससँगको साझेदारीमा हाइड्रोजन पावर ट्रकको पनि परिक्षण गरिरहेको छ । यो ट्रकको इन्जिन हाइड्रोजन फिउलसेल इलेक्ट्रीक नभइ हाइड्रोजन पावर इन्टरनल कम्बस्चन इन्जिनमा हुनेछ ।

हेवीवेट बोकेर लामो दूरीमा सामानहरु ओसार पसार गर्नका लागि यो एक उपयुक्त जिरो इमिसन भेहिकल टेक्नलोजी हुने कम्पनीको दावी छ ।


Back_to_top