६ महिनामै बिक्यो ५८ लाख ‘न्यू इनर्जी भेहिकल’, यी हुन् टप ५ ब्राण्ड

काठमाडौं । विश्वभर नै ईभीको चर्चा शिखरमा पुगेको छ । चाहे खरिदकर्ता हुन् वा उत्पादक सबैको ध्यान ‘न्यू इनर्जी भेहिकल’ तिरै छ ।

सन् २०१० पछि ईभीको विकासमा तिब्रता आएको थियो । करिब १३ वर्षको दौरानमा ईभीको विकासले राम्रो गति लिइसकेको छ । ईभी उत्पादनको दौडमा चिनियाँ ब्राण्डले अग्रता लिइरहेका छन् । चिनियाँ ब्राण्डलाई पच्छाउँदै अमेरिकी र यूरोपियन ब्राण्डहरु रेस लगाइरहेका छन् ।

आश्चर्यको कुरा के छ भने विश्व अटोमोवाइलमा अग्रस्थानमा रहेर राज गरिरहेको जापानी ब्राण्डहरु भने ईभी उत्पादनमा निकै पछाडि रहेका छन् । टप फाइभ भित्र ३ चिनियाँ ब्राण्ड रहन सफल भएका छन् ।

अहिले विश्वका ५ ठूला न्यू इनर्जी भेहिकल उत्पादकमा चिनियाँ ब्राण्ड बीवाइडी, अमेरिकी ब्राण्ड टेस्ला, जर्मन ब्राण्ड फक्सवागेन ग्रुप, चिनियाँ र स्वीडीस ब्राण्ड जिली-भोल्भो टप चार ब्राण्डमा पर्छन् । त्यस्तै सूचीको पाँचौ स्थानमा चिनियाँ ब्राण्ड एसएआईसी ग्रुप रहेको छ ।

‘ईभी-डाटा’ले सार्जजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ को ६ महिनाको गाडी बिक्रीलाई आधार बनाउँदा टप ५ भित्र रहेका यी ब्राण्डले कुल ३२ लाख ४५ हजार २७२ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेका छन् । जुन कुल बिक्री ५८ लाख ३१ हजार ८६४ यूनिटको ५५.६ प्रतिशत हो ।

कुन ब्राण्डको कति बजार हिस्सा ?

न्यू इनर्जी भेहिकलमा सबैभन्दा अगाडि रहेको बीवाइडीले सन् २०२३ को पहिलो ६ महिनामा १२ लाख ४८ हजार १६८ यूनिट कार बिक्री गरेको छ । यो कुल बिक्री भएको न्यू इनर्जी भेहिकलको २१.४ प्रतिशत हो ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको टेस्लाले जनवरी २०२३ देखि जुन अन्तिमसम्ममा ८ लाख ८८ हजार ८७९ यूनिट ईभी बिक्री गर्दै १५.२ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

सूचीको तेस्रो स्थानमा रहेको फक्सवागेन ग्रुपले यस अवधिमा ४ लाख २५ हजार ७६१ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दै ७.३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो ।

फक्सवागेन ग्रुपलाई पच्छाई रहेको जिली-भोल्भो ग्रुपले सन् २०२३ को पहिलो हाफमा ३ लाख ५९ हजार ५४३ यूनिट ईभी बिक्री गरेको छ । कम्पनीले आफ्नो बजार हिस्सा ६.२ प्रतिशत बनाएको छ ।

टप ५ भित्र पर्न सफल एसएआईसी ग्रुपले ३ लाख २२ हजार ९२१ यूनिट ईभी उत्पादन र बिक्री गरेको छ । कम्पनीको बजार हिस्सा ५.५ प्रतिशत रहेको छ ।

ब्याट्री इलेक्ट्रीकको अवस्था

माथि उल्लेख गरिएको बिक्री तथ्यांक हाइब्रिड र ब्याट्री इलेक्ट्रीकको हो । त्यसमध्ये ब्याट्री इलेक्ट्रीक भेहिकललाई मात्रै लिने हो भने टेस्ला अग्रस्थानमा छ । टेस्लाले बिक्री गरेको सबै ८ लाख ८८ हजार ८७९ यूनिट नै प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल हुन् ।

त्यसैगरी बीवाइडीले प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक दुबै कार बिक्री गर्दै आएको छ । कम्पनीले यसअवधिमा ६ लाख १५ हजार ६४ यूनिट प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गरेको छ ।

फक्सवागेनले ३ लाख ११ हजार ३५९ यूनिट ब्याट्री इलेक्ट्रीक कार बिक्री गर्दा एसएआईसीले ३ लाख ८ हजार ८९९ र जिली भोल्भोले २ लाख ३६ हजार ४८७ यूनिट ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गरेको देखिन्छ ।

सन् २०२३ को दोस्रो क्वाटर (जुन अन्तिमसम्म)मा ४१ लाख यूनिट ब्याट्री इलेक्ट्रीक कार बिक्री भएको देखिन्छ ।


Back_to_top