काठमाडौं । एसयूभी किन्ने भन्ने वित्तिकै क्रेटा भन्ने अवस्था एक वर्ष अगाडि पनि थियो । अहिले गाडी किन्ने भन्ने विषयमा मानिसले चर्चा गरेकै सुनिदैन । त्यसको मुख्य कारण आर्थिक मन्दी हो भन्ने गरिएको छ ।
नेपालमा लामो सयमदेखि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटाको एकछत्र राज भयो । यस बीचमा क्रेटालाई टक्कर दिन अरु मोडल नआएका होइनन् । तर, क्रेटा सधैँ एक कदम अगाडि रहन सफल भयो ।
करिब ६ वर्षको दौरान क्रेटासँग टक्कर गर्न निसान किक्स, स्कोडा कुशक, फक्सवागेन टाइगुन जस्ता मोडल आए । तर, सधै क्रेटा अब्बल सावित भयो । अब यहि सेग्मेन्टमा सुजुकीले ग्राण्ड भिटारा ल्याएको छ । यसको पनि सिधा प्रतिस्पर्धा क्रेटासँगै हुन्छ ।
अब यो सेग्मेन्टमा पेट्रोल कारको बिक्री क्रमिक रुपमा घट्दो क्रममा छ । यहि सेग्मेन्टमा जेडएस ईभी, सेरेस ईभी, बीवाइडी एटो–३, चेरी अमोडा–५ जस्ता मोडल उपस्थित भएका छन् । जसको कारण यो सेग्मेन्ट नै कडा प्रतिस्पर्धामा गएको बुझ्न कठिन छैन ।
यस्तोमा मिडसाइज एसयूभी सेग्मेन्टमा क्रेटाकै साइज र अत्याधुनिक फिचर लोडेड भएर आएको ग्राण्ड भिटाराले कस्तो ब्यापार गर्छ त्यो भने हेर्न बाँकी नै छ । तर, यी दुई मोडल बीचको भिन्नता भने यहाँ हामीले प्रस्तुत गरेका छौं ।

साइज
क्रेटाको लम्बाई ४३०० एमएम छ । सुजुकी ग्राण्ड भिटारा क्रेटाभन्दा ४५ एमएम बढी लामो छ । भिटाराको लम्बाई ४३४५ एमएम छ । त्यस्तै चौडाईमा ५ एमएम मात्रै फरक छ । क्रेटाको चौडाई १७९० एमएम रहँदा भिटाराको १७९५ एमएम रहेको छ ।
उचाईमा पनि ग्राण्ड भिटारा १० एमएम बढी अग्लो छ । क्रेटाको उचाई १६३५ एमएम र भिटाराको १६४५ एमएम छ । ह्वीलवेसमा भने क्रेटा १० एमएम बढी लामो छ । क्रेटाको ह्वीलवेस २६१० एमएम र भिटाराको २६०० एमएम छ । तुलनात्मक रुपमा साइजमा ग्राण्ड भिटारा केहि एमएमले ठूलो छ ।
ग्राउन्ड क्लियरेन्स र बुट स्पेश
फोर ह्वील ड्राइभ फिचरसमेत भएर होला भिटाराको ग्राउण्ड क्लियरेन्स क्रेटाको भन्दा २० एमएम बढी छ । क्रेटाको ग्राउण्ड क्लियरेन्स १९० एमएम मात्रै छ भने ग्राण्ड भिटारामा २१० एमएम पाउन सकिन्छ ।
बुट स्पेश भने क्रेटामा ठूलो छ । क्रेटामा ४३३ लिटरको बुट स्पेश दिइएको छ । भिटारामा भने ३७३ लिटरको मात्रै बुट स्पेश छ ।
इन्जिन र पावर
सुजुकी ग्राण्ड भिटारामा १.५ लिटर पेट्रोल इन्जिन अप्सन मात्रै छ भने क्रेटामा १.५ लिटर पेट्रोल र डिजेल इन्जिन पाउन सकिन्छ । भिटारामा (अलग्रीप) अलह्वील ड्राइभ अप्सन दिइएको छ । क्रेटा भने टु ह्वील ड्राइभ सिस्टमको साथ आउने छ ।
भिटारामा माइल्ड हाइब्रिड अप्सनमा १.५ लिटरको ४ सिलिण्डर, पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले १०२ ब्रेक हर्स पवार र १३६ एनएम टर्क प्रदान गर्छ । साथै, स्ट्रङ हाइब्रिड अप्सनमा ३ सिलिण्डर पेट्रोल इन्जिन छ । उक्त इन्जिनले ९२.५ ब्रेकहर्स पावर र १२२ न्यूटन मिटरको टर्क प्रदान गर्छ ।

ग्राण्ड भिटारामा ईसीभीटी, ६ स्पीडको अटोमेटीक तथा ५ स्पीडको म्यानुअल गियर अप्सन दिइएको छ ।
त्यस्तै क्रेटामा रहेको १.५ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । अर्को, १.५ लिटर कै डिजेल इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० न्यूटन मिटर टर्क प्रदान गर्छ । क्रेटामा ६ स्पीडको म्यानुअल र सीभीटी अटोमेटीक गियरबक्स अप्सन पाउन सकिन्छ ।
माइलेज
हाइब्रिड फिचरका कारण ग्राण्ड भिटाराको माइल्ड हाइब्रिडले २०.५८ किलोमिटरको माइलेज दिन्छ । त्यस्तै यसको स्ट्रङ हाइब्रिड भर्सनले प्रतिलिटर २७.९७ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दावी छ ।
त्यस्तै, क्रेटाको पेट्रोल भेरियन्टले १६.८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । यसको डिजेल भेरियन्टले भने २१.४ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
क्याविन फिचर
क्याविनमा उपलब्ध फिचरलाई तुलना गर्दा दुबै एसयूभी लोडेड छन् । ग्राण्ड भिटारामा ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ । त्यही क्रेटामा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ ।
दुबै एसयूभीमा, म्यूजिक सिस्टम, अटोमेटिक एसी, भेन्टिलेटेड सिट, एड्जस्टेबल स्टेरिङ, ड्राइभ मोड, प्यानारोमीक शनरुफ, रियर एसी भेन्ट, रियर आर्मरेस्ट, क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

इन्ट्रुमेन्ट क्लष्टर भिटारामा पूर्ण डिजिटल छ । तर, क्रेटामा सेमी डिजिटल क्लष्टर पाउन सकिन्छ । क्रेटामा ड्राइभर सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्छ । तर, भिटारमा म्यानुअल एड्जस्ट गर्नु पर्ने हुन्छ ।
सुरक्षा फिचर
सेफ्टी फिचरको मामलामा पनि दुब्रै एसयूभीमा ६ वटा एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, इसीएस, ट्रयाक्सन कन्ट्रोल, अटोमेटीक हेडल्याम्प, हिलहोल्ड असिस्ट, रियर पर्किङ क्यामरा र सेन्सर जस्ता फिचरहरु समान छन् । दुबै एसयूभीमा यहि सेग्मेन्टका अन्य ब्राण्डका एसयूभीमा हुने एडास फिचर भने पाउन सकिदैन ।
मूल्य र भेरियन्ट
दुबै एसयूभीमा ग्राहकले थुप्रै छनोट पाउने छन् । सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले ग्राण्ड भिटारा १० भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले भिटाराको सुरुवाती भेरियन्ट डेल्टाको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
त्यसैगरी, जेटा भेरियन्टको मूल्य ६३ लाख ९९ हजार रुपैयाँ छ । अल्फा टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७१ लाख ९९ हजार र अल्फा टु ह्वील ड्यूल टोन भेरियन्टको ७२ लाख २९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले अल्फा अल ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार र अल्फा अलह्वील ड्यूल टोन ८० लाख २९ हजार कायम गरेको छ ।
त्यसैगरी जेटा प्लस ९१ लाख ४९ हजार र जेटा प्लस ड्यूल टोनको मूल्य ९१ लाख ७९ हजार रहेको छ । सबैभन्दा टप भेरियन्ट अल्फा प्लसको मूल्य ९६ लाख ९९ हजार र अल्फा प्लस डिउलटोनको ९७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा पेट्रोलको ८ भेरियन्ट र डिजेलको ३ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएको क्रेटा ई पेट्रोलको मूल्य ५२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
इ लोडेड पेट्रोल भेरियन्टको मूल्य ५२ लाख ९६ हजार तोकेको कम्पनीले ई प्रिमियम लोडेडको मूल्य ५४ लाख ५६ हजार रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ । क्रेटा एस भेरियन्टको मूल्य भने ५९ लाख ९६ हजार रहेको छ ।
कम्पनीले एस प्लस क्रेटा पेट्रोलको मूल्य ६४ लाख ९६ हजार, एसएक्स भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ र एसएक्स सीभीटी भेरियन्टको मूल्य ७४ लाख ५६ हजार कायम गरेर बिक्री गर्दै आएको छ । पेट्रोलमा टप भेरियन्ट एसएक्स (ओ) सिभीटीको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ छ ।
डिजेल क्रेटा ३ भेरियन्टमा मात्रै उपलब्ध छ । यसको ई भेरियन्टको मूल्य ४९ लाख ९६ हजार र इलोडेड भेरियन्टको ५० लाख ५६ हजार र इ प्रिमियमको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

