काठमाडौं । विश्वमा न्यू इनर्जी भेहिकल त्यसमा पनि प्योर इलेक्ट्रीक कारको माग तिब्र गतिमा बढिरहेको छ । विश्वका अधिकांश देशले कार्वन उत्सर्जनमा कम गर्न ईभीको प्रयोग बढाउन अनुदान दिइरहेका छन् ।
ईभी खरिद गर्दा सहज कर्जा उपलब्ध र ट्याक्समा दिएको सुविधाले गर्दा नेपालमा पनि ईभीको बिक्री तिब्र गतिमा बढेको छ । ईभीको मर्मत सम्भार र संचालन खर्च एकदमै कम हुने भएको कारण ईभी किन्ने बढी रहेका छन् ।
ईभीमा इन्जिन आयल हुँदैन, त्यहि कारण यसलाई भण्डार गर्ने, प्रेसराइज गर्ने , सर्कुलेट गर्ने, चिस्याउने, फेरि सर्कुलेट गर्ने, बीचमा टपअप गर्ने तथा फोहोर भएपछि परिवर्तन गर्ने जस्ता कार्य हुँदैन । त्यहि कारण सर्भिस र मेन्टिनेन्स खर्च निकै कम हुन्छ ।
तर, दुर्घटना हुँदा आयल परिवर्तन गर्दा जस्तो कम खर्च हुने भन्ने होइन । ईभी सामान्य ठोकिदा मर्मत खर्च निकै धेरै लाग्ने एक रिपोर्ट बाहिर आएको छ ।
अमेरिको इन्स्योरेन्स एड्सेन्स कम्पनी मिचेल इन्टरनेशनलले गरेको सर्भेमा ईभी दुर्घटना हुँदा धेरै खर्च हुने तथ्य बाहिर ल्याएको हो । रिपोर्टका अनुसार गाडी ठोकिएपछि गरिने इन्स्योरेन्स दावीलाई मुख्य आधार बनाएर अध्ययन गरेको थियो ।
उक्त अध्ययन अनुसार साना नन् लग्जरी ब्राण्डको कारको अगाडिको भाग ड्यामेज हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा २७ प्रतिशत बढि रिपियर खर्च लाग्ने तथ्य अगाडि आएको हो ।
त्यस्तै मिड साइज लग्जरी ईभीमा भने सोहि प्रकारको दुर्घटना भएको खण्डमा ग्यासोलीनको तुलनामा ५३ प्रतिशत बढि खर्च लाग्ने देखिएको हो ।
त्यस्तै ईभीमा हुने पाट्सहरु रिपियर हुने सम्भावना पनि केबल १३.४९ प्रतिशत मात्रै देखिएको छ । त्यस्तै पेट्रोलियम पदार्थबाट चल्ने कारहरुको १९.२० प्रतिशत पार्टस् रिपियर गर्न सकिने रिपोर्टले औल्याएको छ ।
पार्टस् उपलब्धतामा ईभी सहज थियो । ईभीका पार्टस्हरु ओइएमको ९०.७५ प्रतिशत उपलब्ध थियो । तर, ग्यासोलीनको ६६.५ प्रतिशत मात्र पार्टस् उपलब्ध देखिएको थियो ।
त्यसैले ईभी चलाउनेले दुर्घटनाबाट बचाउन सकेको खण्डमा ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्ने देखिएको छ । यदि दुर्घटनामा परेको खण्डमा भने खर्च धेरै हुन्छ । तर, पनि अहिले सबै गाडी बीमा हुने भएको कारण आर्थिक जोखिम कम भएको हुन्छ ।

