नेपालकै सस्तो इलेक्ट्रीक कार तीन भेरियन्टमा किन्न पाइने

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसले उत्पादन गरेको मिनी कार ई-१ विभिन्न तीन भेरियन्टमा नेपाल आउने भएको छ । कम्पनीले ई-१ लाई वेस, मिड र टप गरी तीन भेरियन्टमा नेपालमा बिक्री सुरु गर्न लागेको हो ।

आगामी मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा सेरेस ब्राण्ड नै लन्च हुँदैछ । जहाँ कम्पनीले दुई नयाँ मोडल मिनी ईभी ई-१ र ठूलो एसयूभी सेरेस-३ सार्वजनिक गर्नेछ ।

नेपालकै सस्तो इलेक्ट्रीक कार हुने अनुमान गरिएको सेरेस ई-१ को मूल्य १३ लाखदेखि १५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । निकै आकर्षक डिजाइनमा देखिएको सेरेस मिनी ईभी नाडा अटो शोको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

विद्युतीय स्केटबोर्ड डिजाइनमा तयार भएको मिनी ईभी कम्पनीले फराकिलो र स्मार्ट इन्टेरियर बनाउन खोजेको छ । कम्पनीले यसमा १३.८ र १६.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री विकल्पमा दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा १८० देखि २२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

सेरेस मिनी ईभीमा ८.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर सर्पोट गर्छ । दुई ड्राइभिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम यसमा दिइएको छ ।

सुरक्षाको लागि गाडीमा फ्रन्ट एयर ब्याग, इबीडीसहितको एबीएस, हिल स्टप/स्टार्ट, अटो होल्ड, पार्किङ्ग ब्रेक, सिट बेल्ट, पार्किङ्ग केमेरा र सेन्सर, टिपीएमएस जस्ता फिचर छन् ।


Back_to_top