काठमाडौं । टाटा मोटर्सले आफ्नो इन्टरनल कम्बस्तन इन्जिन भएको टियागोलाई जीपट्रोन प्रविधिको प्रयोग गरेर इलेक्ट्रीमा ल्याएदेखि नै नेपालमा यसको चर्चा भएको थियो । अब भने सिप्रदीले यसको बुकिङ खुल्ला गरेको हो ।
पारिवारीक ह्याचव्याकमा इलेक्ट्रीक खोज्नेको लागि टियागो ईभी उपयुक्त हुने अनुमान गर्न सकिन्छ । सिप्रदीले टियागो ईभीको मूल्य भने अझै सार्वजनिक गरेको छैन । बुकिङ गर्न चाहने ग्राहकले भने शोरुममा गएर वा अनलाइन मार्फत सहजै बुकिङ गर्न सक्ने छन् ।
कम्पनीले टियागोको मूल्य भने नाडा अटो शोमा सार्वजनिक गर्नेछ । अटो शो आगामी भदौ २६ गते मंगलवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । सम्भवत यसको मूल्य २२ लाख रुपैयाँदेखि ३० लाखै भित्रै रहने छ ।
डिसी चार्जर सपोर्ट गर्ने टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त ईभीलाई सामान्य घरायसी बिजुलीमा सानो चार्जरको प्रयोग गर्दा फुल चार्ज हुन ८ घन्टा लाग्ने छ । त्यहि डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

टाटा टियागो ५० किलोवाट क्षमताको मोटरमा नेपाल आउने छ । नेपाल सरकारले ५० किलोवाटसम्मका गाडीलाई १० प्रतिशत मात्रै भन्सार लगाएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहने छ ।
एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको टियागो फिचर लोडेड हुनेछ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

