काठमाडौं । मोसिर ग्यारेज (एमजी)ले आफ्नो कन्भर्टेवल स्पोर्टस् कार साइवरस्टरको चीनमा प्रि–बुकिङ खुल्ला गरेको छ । अक्टोबरबाट बिक्री सुरु हुने एमजी साइवरस्टर इलेक्ट्रीक स्पोर्टस् कार हो ।
एमजीको नेपालको लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले सम्भवत सन् २०२३ को अन्तिमसम्ममा साइवरस्टर नेपाल ल्याउन सक्ने छ ।
‘गाडीको टेक्नीकल डिटेल, मूल्य लगायतका विषय बाहिर आएपछि नेपाल ल्याउने बारे निर्णय हुन्छ । अहिलेसम्मको अवस्थामा डिसेम्बरसम्ममा नेपाल ल्याउनेगरी हामी अगाडि बढेका छौं’, पारामाउन्ट स्रोतले भन्यो ।
विभिन्न तीन भर्ससनमा आउने बताइएको एमजी साइवरस्टरको मूल्य अहिलेसम्म चीनमा पनि सार्वजनिक भएको छैन । एमजीले साइवरस्टरलाई रियर ह्वील ड्राइभमा पनि सिंगल र डबल मोटर्समा ल्याउने बताएको छ ।
यसको ड्यूल मोटर भर्सन निकै पावरफुल हुनेछ । त्यसको एक्सलेरेसन पनि उत्कृष्ट हुने कम्पनीको दावी छ । ड्यूल मोटर भर्सनले केबल ३.२ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ । त्यस्तै सिंगल मोटर भर्सनको रेन्ज एक पटकको फुल चार्जमा ५८० किलोमिटरसम्म रहने छ ।
एमजी ब्राण्डको यो दुई सिट क्षमताको कार ‘साइवर क्यूव प्लेटफर्म’मा बनेको हो । यसको लम्बाई ४५३५ एमएम, चौडाई १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसमा २६९० एमएमको ह्वीलवेस रहने छ ।
कम्पनीले यूरोप र एसियाली बजारमा पनि यसलाई सन् २०२४ को सुरुवातबाटै उपलब्ध गराउने मिडिया रिपोर्टहरुमा दावी गरिएको छ ।


