काठमाडौं । विश्व अटोमोवाइलमा अलग स्थान निर्माण गरेको जापानी कार निर्माता टोयोटाले कम्प्याक्ट क्रुजर मोडल अर्को महिना सार्वजनिक गर्ने भएको छ । टोकियो मोटर शोमा कम्पनीले यसलाई देखाउन लागेको हो ।
सन् २०२४ बाटै बजारमा आउने अपेक्षा गरिएको कम्प्याक्ट क्रुजर मोडल, पेट्रोल इन्जिन, हाइब्रिड र इलेक्ट्रीक भर्सनमा आउने छ । टोयोटाले सन् २०२२ मा पहिलो पटक कम्प्याक्ट क्रुजरको तस्बिर बाहिर ल्याएको थियो ।
टोयोटा ल्याण्ड क्रुजरको मिनी भर्सनको रुपमा आउने अनुमान गरिएको कम्प्याक्ट क्रुजर मोडल एक लाइफ स्टाइल प्रोडक्ट हुने अनुमान गर्न सकिन्छ । भारतीय ब्राण्ड महिन्द्राको थार र जापानी ब्राण्ड सुजुकी जिम्नीसँग प्रतिस्पर्धा गर्न सक्नेगरी यो मोडल आउने छ ।
हामीले कम्प्याक्ट क्रुजर भनेपनि टोयोटाले यसको नाम टुङ्गो लगाएको छैन । यो नयाँ अफरोडर लाइफ स्टाइल मोडलको नाम ‘लाइट क्रुजर वा यारिस क्रुजर’ पनि हुन सक्ने बताइन्छ । यसको ठ्याक्कै नाम थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।
कन्सेप्ट डिजाइनमा देखाइएको कम्प्याक्ट क्रूजरमा अग्लो पिल्लर र फ्ल्याट रुफ लाइन देख्न सकिन्छ । जापानी मिडियाहरुका अनुसार कम्प्याक्ट क्रुजर मोडल सुजुकी जिम्नीभन्दा केहि ठूलो साइजमा आउने छ ।
टोयोटाले यो कम्प्याक्ट क्रुजर मोडल ‘बडी अन फ्रेम च्यासीस’मा बन्ने छ । यो टोयोटाले प्रयोग गर्दै आएको र पहिला अनुमान गरिएको ‘टीएनजीए सी आर्किटेक्चर’भन्दा फरक प्लेटफर्म हो ।
कम्पनीले एसयूभीको लम्बाई ४३५० एमएम, चौडाई १८६० एमएम र उचाई १८८० एमएम दिएको रिपोर्ट बाहिर आएको छ । उचाईमा नयाँ जेनेरेशन प्राडो जतिनै भएपनि अन्य साइज सानो छ ।
लाइफ स्टाइल एसयूभी भएका कारण यो कम्प्याक्ट क्रुजरमा राउण्ड सेपको एलइडी हेडलाइट र लेटगेटमा टाँसिएको स्पेयर टायर रहने छ । सम्भवत यसमा टोयोटा कोरोला जस्तै २.० लिटर पेट्रोल इन्जिन रहने छ ।
यसको हाइब्रिड भर्सन र ईभी भर्सनको विषयमा अहिल्यै केही विवरण बाहिर आएको छैन ।

