ईभी भर्सेज पेट्रोलियमबाट चल्ने कार : यस्तो देखिन्छ ठूला ५ देशको अवस्था

काठमाडौं । पेट्रोल कारको भविष्य कति वर्ष भन्ने विषयले चर्चा पाउन थालेको तीन वर्ष भयो । विशेषगरी चीनले ईभी उत्पादन र प्रयोगमा आक्रमक लगानी गरेसँगै विश्वभर विद्युतीय साधनले चर्चा पाएको हो ।

विश्वका ठूला ब्याट्री उत्पादक सीएटीएल र बीवाइडी जस्ता कम्पनीको कारण चीनले ब्याट्री र ईभी उत्पादनमा नेतृत्व गर्न सकेको हो । जुन रफ्तारमा चीनमा ईभीको प्रयोग बढी रहेको छ । यसले विश्व अटोमोबाइल कहिलेसम्ममा पूर्ण न्यू इनर्जीमा प्रवेश गर्छ भन्ने बहसलाई थप पेचिलो बनाइरहेको छ ।

तर, अमेरिका, भारत, जापान, ब्राजिल, जर्मनी, इन्डोनेसिया जस्ता ठूला कार बजारमा ईभीको बजार हिस्सा नगन्य मात्रै छ । सन् २०२३ को ९ महिनासम्म पनि लगभग विद्युतीय कारविहीन टोयोटाले करिब १० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएबाट ईभीको बहस नयाँ मोडतर्फ लगिरहेको छ ।

विभिन्न किसिमका रिसर्च रिपोर्टलाई आधार मान्ने हो भने सन् २०२८ सम्ममा विश्वमा बिक्री हुने विद्युतीय कारको संख्या ६० देखि ८० प्रतिशत पुग्छ । तर, सन् २०२३ को बिक्रीले त्यसलाई इंगित गर्छ वा गर्दैन भनेर प्रश्न गर्ने हो भने सहजै भन्न सकिन्छ । गर्दैन ।

नेपालको हकमा सन् २०२७ मा नै विद्युतीय कारको बजार हिस्सा ९० प्रतिशत हाराहारी पुग्ने देखिन्छ । पछिल्ला दुई वर्षमा जुन रफ्तारमा ईभी प्रति ग्राहकको क्रेज देखिन्छ, त्यसले नेपालमा विद्युतीय साधनलाई सहजै ग्राहकले स्वीकार गरेका छन् । त्यसमा पनि सरकारले दिएको कर छुटले धेरैलाई ईभीतर्फ तानेको मान्ने गरिन्छ । तर, विश्व बजारमा ईभीको बजार हिस्सा बढाउन मुख्य तथा ५/६ वटा देशको भूमिका महत्वपूर्ण देखिन्छ ।

यी हुन् महत्वपूर्ण देशहरू

विश्ब बजारमा सबैभन्दा धेरै कार खपत गर्ने देश चीन हो । चीनमा अहिले ३८ प्रतिशत न्यू इनर्जी भेहिकल बिक्री हुन्छ । त्यसमा १२ प्रतिशत प्लगइन हाइब्रिड र बाँकी २६ प्रतिशत इलेक्ट्रीक भेहिकल हुन् । वार्षिक २ करोड २० लाख यूनिट हाराहारी कार बिक्री हुने बजारमा अझै पेट्रोलको हिस्सा निकै ठूलो ६२ प्रतिशत छ ।

अमेरिकामा सन् २०२३ मा १ करोड ४२ लाख यूनिट नयाँ कार बिक्री हुने प्रक्षेपण गरिएको छ । त्यसमा ८ प्रतिशत न्यू इनर्जी भेहिकल रहने अनुमान गरिएको छ । अमेरिकी बजारलाई धेरैले ट्रेन्ड सेटरको रूपमा लिने गर्छन् ।

भारत विश्वको तेस्रो धेरै कार बिक्री हुने बजार हो । वार्षिक ४३ लाख हाराहारी साना गाडी बिक्री हुने भारतमा ईभीको बजार हिस्सा ३.११ प्रतिशत मात्रै छ । विश्वमै ईभी प्रति लगाव र चासो नभएका उपभोक्ता भारतमा देखिन्छन् ।

जापान विश्वकै ठूलो कार उत्पादक र उपभोक्ता मध्येको एक हो । यहाँ वार्षिक ४० देखि ४५ लाख यूनिट नयाँ कार बिक्री हुन्छ । अहिले पनि जापानमा वार्षिक १ लाख यूनिट न्यू इनर्जी भेहिकलको बिक्री पुगेको छैन ।

जर्मनी पनि विश्वको ठूलो कार निर्माता र उपभोक्ता भएका मध्येको एउटा देश हो । वार्षिक करिब ३५ लाखदेखि ४० लाख यूनिटसम्म कार बिक्री हुने जर्मनीमा पनि ईभीको हिस्सा ७ प्रतिशत माथि पुग्न सकेको छैन ।

ब्राजिल, बेलायत र यूरोपियन यूनियन भित्र पनि ईभीको हिस्सा तीव्र गतिमा विस्तार भइरहेको छ । तर, अहिल्यै यूरोपका एकाध देश बाहेक पेट्रोलियम पदार्थबाट चल्ने कारलाई उछिन्ने अवस्थामा अन्य देश छैनन् ।

यस्तोमा अटोमोबाइल क्षेत्रका पण्डितले गरेका भविष्यवाणी पूरा हुन्छ वा हुँदैन, एकीन साथ भन्न सक्ने अवस्था छैन ।


Back_to_top