काठमाडौं । नेपाली बजारमा दुई चिनियाँ स्वामित्वका ब्राण्ड बीवाइडी र एमजी बीच कडा टक्कर देखिएको छ । सन् २०२३ को जनवरी १ देखि सेप्टेम्बर १५ सम्मको आयात तथ्यांक हेर्दा यी दुई ब्राण्ड बीच तेस्रो स्थानको लागि कडा टक्कर चलिरहेको हो ।
यदि सप्लाईमा समस्या देखियन भने यी दुबै ब्राण्ड सन् २०२३ मा दोस्रो र तेस्रो स्थानमा रहने पक्का देखिन्छ । सेप्टेम्बर १५ तारिखसम्मको अवस्थालाई केलाउँदा यी दुई ब्राण्डले राम्रै प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।
जनवरीदेखि सेप्टेम्बर १५ तारिखसम्म एमजीले जेडएस ईभी ७४० यूनिट आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ । कम्पनीले सोही अवधिमा कोमेट ईभी ९ यूनिट र एमजीफोर ४ यूनिट नेपाल ल्याएको छ ।
एमजीसँग पेट्रोलियम पदार्थबाट चल्ने कार पनि उपलब्ध छ । कम्पनीले एचएस मोडल ७ यूनिट, हेक्टर १ यूनिट र एस्टर ५ यूनिट आयात गरेको छ । कम्पनीले यस अवधिमा कुल ७६६ यूनिट कार आयात गरेको देखिन्छ ।
बीवाइडीको आयात पनि पछिल्ला महिना निकै तिब्र गतिमा बढेको छ । कम्पनीले जनवरीदेखि सेप्टेम्बर १५ सम्ममा ५५० यूनिट एटो थ्री आयात गरेको छ । जसमा ६० किलोवाट आवरको ब्याट्रीमा ३३४ यूनिट र ५० किलोवाट आवरको ब्याट्रीमा २१६ यूनिट छ ।
यसका अलवा बीवाइडीले ई-६ क्रसओभर एमपीभी ८५ यूनिट, एमथ्री ८ यूनिट र डल्फीन ३ यूनिट आयात गरेको देखिन्छ । सेप्टेम्बर १५ पछि भने डल्फीनको आयात बढेको हो । अहिले डल्फीन ग्राहकलाई हस्तान्त्रण भइरहेको छ ।
मोडलमा प्रतिस्पर्धा
बीवाइडी डल्फीन ६० किलोवाट आवरको ब्याट्रीमा मात्रै उपलब्ध हुँदा एमजी जेडएस ईभी र बीवाइडी एटो-३ मा प्रतिस्पर्धा थिएन । मूल्यको हिसावले झण्डै १२ लाख रुपैयाँ फरक हुँदा प्रतिस्पर्धा देखिएन । तर, जब ५० किलोवाट आवरको ब्याट्रीमा एटो-३ आयो, त्यसपछि प्रतिस्पर्धा बढ्यो ।
मूल्यमा केबल ३ लाख रुपैयाँको फरक भएसँगै जेडएस ईभी र एटो-३ बीच प्रतिस्पर्धा सुरु भएको हो ।
त्यसैगरी एमजी-४ प्रिमियम ह्याचव्याक र डल्फीन बीच पनि कडा प्रतिस्पर्धा सुरु भएको छ । एमजीले ४१ लाख ४९ हजार मूल्य तोकेको दुई दिनपछि डल्फीनको मूल्य बाहिर आएको थियो । डल्फीनलाई कम्पनीले ३९ लाख ८० हजार मूल्यमा ल्याएको हो । मूल्यकै कारण डल्फीनले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

